पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाडौ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षाको सम्भावना रहेको औँल्याइएको छ।

मौसम पूर्वानुमान महाशाखाले बिहीबार बुलेटिन जारी गर्दै शुक्रबार दिउँसोबाट नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहने र त्यसको प्रभावले पानी पर्ने सम्भावना रहेको बताएको हो।

महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिक बदली र अन्य स्थानमा सामान्यतया मौसम सफा रहेको छ।

बिहीबार राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई एक/दुई स्थानमा हल्का वर्षा हुनुका साथै बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

शुक्रबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा समान्यतया सफा रहनेछ। देशको पश्चिमी पहाडी भेगका धोरै स्थानमा र मध्य तथा पूर्वीपहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।

पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातको समयमा देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा समान्यतया सफा रहनेछ भने पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा हुने तथा उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबार पनि देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ।

पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा हुने तथा उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकोे छ ।