चीनबाट नेपाली नागरिक फर्काउन दुई वायुसेवाका निगम तयार अवस्थामा

काठमाडौ। चीनको हुबे प्रान्तमा छरिएर रहेका नेपालीलाई स्वदेश फर्काउने बन्दोबस्त आफ्नो तर्फबाट लगभग पूरा भएको बेइजिङस्थित नेपाली राजदूतावासले बताएको छ । चीनमा रहेका नेपाली नागरिकले घर फिर्ता ल्याउन नेपाल सरकारलाई गुहार गरेका थिए । चीनमा ७ हजार नेपाली नागरिक रहेको नेपाली दूतावासले जनाएको छ । ती मध्ये भाइरस प्रभावित हुबेइको वरपर करीब १०० नेपाली रहेका छन् ।

भाइरसको कारण मानिसहरु आफ्नो घरबाट निस्किन पनि डराएका छन् । नेपालीहरु त्यहाँबाट घर फर्किन चाहन्छन् । चीनमा रहेका नेपालीहरुले घर फर्काउन आग्रह गरेका थिए । नेपाल सरकारले स्वदेश फर्काउने व्यवस्था मिलाउने अनुरोध र आशा राखेर नेपाली नागरिकहरु दिन गन्दै बसेका थिए । चीनमा रहेको नेपाली दूतावासका नियोग उपप्रमुख सुशीलकुमार लम्सालका अनुसार हुबेइमा रहेका १८० जना नेपालीले उद्धारका लागि आवेदन दिएका थिए । चीनमा बसोबास गर्ने नेपालीहरु वुहान र वरपरका स्थानमा बस्दै आएका छन् ।

वुहानबाट सुरु भएको नयाँ कोरोना भाइरसको प्रकोप फैलिएपछि चीनमा अहिलेसम्म ४२५ जनाको मृ’त्यु भइसकेको छ भने २०,००० मानिस संक्रमित भएका छन् । भाइरसका कारण चीन बाहिर फिलिपिन्समा एक र हङ्कङमा एक जनाको मृ’त्यु भएको छ । अन्य एक दर्जनभन्दा बढी देशका १५० भन्दा बढी मानिसमा सं’क्रमण भएको बताइएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार नेपाल वायुसेवा निगम र हिमालय एअरलाइन्सका दुई विमान चीनको वुहानबाट ती नेपालीको उद्धार गर्न तम्तयार अवस्थामा छन्। यसअघि अमेरिका, ब्रिटेन, अस्ट्रेलिया, भारत र अन्य देशले वुहान र वरपर रहेका आफ्ना नागरिकलाई फिर्ता लगेका थिए। ताइवानले पनि वुहानबाट आफ्ना झन्डै ५०० नागरिकको उद्धार गरेको छ ।