कोरोनाको असर लसुनमा, ह्वातै बढ्यो मूल्य

काठमाडौं । हालैमात्र चीनमा देखिएको कोरोना भाइरसको सङ्क्रमणका कारण नेपाली बजारमा लसुनको मूल्य ह्वातै बढेको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिले दिएको जानकारीअनुसार चीनमा कोरोना भाइरस देखा परेसँगै नेपालमा लसुनको मूल्य वृद्धि भएको हो।

बाह्रखरीसँग कुरा गर्दै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका वरिष्ठ बजार व्यवस्थापन अधिकृत मनोज धितालले नेपाल लसुनमा चीनसँगै र्निभर छ । भारतबाट थोरै मात्रामा आउँछ, जसले गर्दा चीनसँग जोडिएका सबै नाका बन्द भएसँगै लसुनको मूल्य वृद्धि भएको बताए ।

समितिका अनुसार कालीमाटीमा माघ १ गते लसुनको खुद्रा मूल्य प्रतिकिलो २८५ रुपैयाँ रहेको थियो भने त्यसयता क्रमशः मूल्य वृद्धि हुँदै सोमाबार लसुनको मूल्य प्रतिकिलो ५५५ रुपैयाँ पुगेको छ । समितिका अनुसार एक गतेको तुलनामा सुकेको लसुनको अधिकतम खुद्रा मूल्य किलोमा १२६ दशमलब ५५ प्रतिशत वृद्धि भएको छ ।

त्यसैगरी, कालीमाटीमा आज लसुनको अधिकतम थोक मूल्य प्रतिकिलो ४४९ रुपैयाँ रहेको छ । धितालका अनुसार माघ १५ देखि कालीमाटीमा तीन टनको हाराहारीमा मात्र लसुन आयात भएको छ ।

कालीमाटी तरकारी बजारको होलसेल बजारमा लसुनको अभाव भए पनि खुद्रा पसलमा लसुन स्टक राखिने भएकाले अभाव नहुने धितालले बताए । “होलसेल बजारमा लसुन अभाव भएको हो, खुद्रा बजारमा लसुन स्टक छ अभाव हुँदैन,” उनले भने ।