चीनबाट नेपाल आउने पर्यटक बढे

काठमाडौं। सन् २०२० को पहिलो महिना जनवरीमा चीनबाट नेपाल आउने पर्यटक बढेका छन् । कोरोना भाइरसको संक्रमणले चीनबाट नेपाल आउने पर्यटकको संख्या घट्ने चिन्ता भैरहेका बेला जनवरीमा भने पर्यटक बढेका हुन् । अध्यागमन विभागका अनुसार जनवरी महिनामा झण्डै १५ हजार जना चिनियाँ पर्यटक नेपाल आएका छन् ।

हवाइ र स्थलमार्ग हुँदै चीनबाट १३ हजार ९ सय ५८ जना पर्यटक नेपाल आएको अध्यागमन विभागका सूचना अधिकारी रामचन्द्र तिवारीले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । सन् २०१९ को पहिलो महिनामा चीनबाट नेपाल आउने पर्यटकको संख्या १३ हजार ६ सय ८८ रहेको थियो ।

जनवरीको सुरुदेखि नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण चीनले पर्यटकीय गतिविधिमा रोक लगाएको छ भने आफ्ना नागरिकलाई विदेश भ्रमणमा सचेत बनाएको छ । साथै कैयौँ जहाजले उडान रद्द गर्न गर्न थालेका छन् । तर जनवरीमा भने नेपाल आउने चीनका पर्यटकको संख्या थोरैले भएपनि बढेको छ ।

तर चीनबाट नेपाल आउने सबैजसो पर्यटकले आफना प्याकेज रद्द गरेकाले अब भने चिनियाँ पर्यटक ठूलो संख्याले घट्ने पर्यटन व्यवसायीको भनाइ छ ।