पोखरा विमानस्थलमा बुध्द र यतीको जहाज झण्डै, सर्वसाधारण त्रासमा

पोखरा। पोखरा विमानस्थलमा एटीसीको सामान्य कमजोरीका कारण बुध्द र यतीका जहाज झण्डै ठोकिएका छन् । विमानस्थलकै कर्मचारीले यसलाई ठूलो दुर्घटना टरेको बताएका छन् ।

शनिबार दिउँसो पोखरा विमानस्लबाट काठमाडौं उड्नै लागेको बुध्दको जहाज र काठमाडौंबाट पोखरा विमानस्थलमा अवतरण गर्नै लागेको यतीको जहाज झण्डै दुर्घटनामा परेका थिए ।

“बुध्दको जहाज रनवेमै थियो,” पोखरा विमानस्थलका प्रवक्ता तथा सूचना अधिकारी देवराज सुवेदीले भने, “विमानस्थलमा अवतरण गर्न लागेको यतीको जहाजलाई देखेपछि बुध्दले रोक्नुपर्ने थियो तर त्यसो हुन नसक्दा यस्तो भएको हो । यसलाई दुर्घटना भन्न मिल्दैन । यो सामान्य घटना हो।”

तर दुवै जहाजमा रहेका यात्रु र विमानस्थलमा रहेका सर्वसाधारण त्रासमा देखिएको उनले जनाए । “यात्रुलाई आफ्नै आँखा अगाडि अर्को जहाज देखेपछि त्रास सिर्जना हुनु स्वाभाविक हो,” उनले भने

विमानस्थल स्रोतका अनुसार एटीसीले उडान र अवतरणका लागि सँगसँगै अनुमति दिँदा दुईवटा जहाज निकै नकिज पुगेको बताए । “विमानस्थलमा हुने दुर्घटना नै यस्ता सामान्य कमजोरीका कारण हुने गरेको पाइन्छ,” स्रोतले भन्यो, “यहाँ एटीसीको कमजोरी देखिन्छ ।”