ढुक्क हुनुहोस् चीनमा रहेका नेपालीकाे जीवन रक्षाको ग्यारेन्टी गर्छाैं

काठमाडाैं। नेपालस्थित चिनियाँ राजदूतावासले चीनमा रहेका नेपाली नागरिकको जीवन रक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टी गर्ने जनाएको छ ।

काठमाडौंस्थित चिनियाँ राजदूतावासले शनिबार बिहान विज्ञप्ति जारी गर्दै नेपाली नागरिकको जीवन रक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टी गर्ने जनाएको हो ।

‘केही विद्यार्थीसहित नेपाली नागरिकहरु अहिले पनि वुहानमा रहेको कुरा अवगत छ र उनीहरुको जीवन र मेडिकल केयरको ग्यारेन्टी गरिएको छ, उनीहरुको जायज अधिकार र इच्छाको रक्षा गर्न चीनले सदैव सक्रियता साथ पहलकदमी गरिरहनेछ, ढुक्क हुनुहोस्,’ जारी विज्ञप्तिमा भनिएकाे छ ।

चीनको वुहानबाट नेपालीहरु छिटो उद्धार गरिदिन आग्रह गरिरहेको समाचार आइरहेको बेला चिनियाँ दूतावासले स्वास्थ्य उपचारको सुनिश्चितता गरेको स्पष्ट पारेको हो । जारी विज्ञप्तिमा भनिएकाे छ, ‘हामी यस महामारी नियन्त्रणको लडाइँ जित्नेमा विश्वस्त र सक्षम छौं । चीन सरकारले अन्तर्राष्ट्रिय दायित्वको पालना निकै जिम्मेवारपूर्वक गर्ने छ ।’

यससम्बन्धी कुनै आवश्यकता परेमा नेपाली पक्षले समयमै नेपालस्थित चिनियाँ दूतावास वा चीनको विदेश मन्त्रालयसँग सम्पर्क र संवादमा रहन सक्ने दूतावासले जानकारी गराएको छ । नेपाली पक्षले कोरोना भाइरसको महामारी रोकथामका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँग समन्वय गरेर चालेका कदमहरुको चीनले प्रशंसासमेत गरेको छ ।

हालै सिर्जित नयाँ परिस्थितिका कारण नेपाल आउने चिनियाँ पर्यटकको संख्यामा असर पर्नसक्ने बताउँदै चीनले यो महामारी नियन्त्रणमा आएपछि धेरै चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गर्दै नेपाल भ्रमण वर्ष २०२० मा योगदान पु¥याउने प्रतिबद्धता समेत जनाएको छ ।