अब फेरि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट निरन्तरता दिने

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी साधनमा आधुनिक प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेट जडानलाई निरन्तरता दिने तयारी गरेको छ।

सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने कार्य रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि पुनः प्लेट जडानको बाटो खुलेको समाचार आजको कान्तिपुर दैनिकमा दीपेन्द्र विष्टले लेखेका छन्।

देवनागरिको सट्टा अंग्रेजीमा नम्बर प्लेट लेखेको भन्दै पर्यटन व्यवसायी भरतकुमार बस्नेतले सर्वोच्च अदालतमा रिट हालेका थिए।

सर्वोच्चको आदेशपछि झण्डै दुई वर्षदेखि रोकिएको इम्बोस्ड नम्बर प्लेटको काम अघि वढाउन बाटो खुलेको भौतिक पूर्वाधार मन्त्रालयका एक उच्च अधिकारीले बताए।

‘अब केही दिनमै इम्बोस्ड नम्बर प्लेट जडान हुन्छ,’ ती अधिकारीले भने, ‘यातायात व्यवस्था विभागलाई निर्देशन दिइसकेका छौँ।’