‘सेन्टी भाइरस’को आम्दानी गौतमबुद्ध क्रिक्रेट रंगशाला निर्माणमा

काठमाडौं । आधा दशकपछि चलचित्र अभिनयसँग निर्माणमा फर्किएका अभिनेता सीताराम कट्टेल (धुर्मुस) र अभिनेत्री कुञ्जना घिमिरे (सुन्तली)ले नयाँ चलचित्र ‘सेन्टी भाइरस’ निर्माण गरेका छन् । आगामी ९ फागुनबाट सिनेमा हलमा प्रदर्शन हुने यो चलचित्रका नाफाको आधा रकम ‘गौतमबुद्ध क्रिक्रेट रंगशाला’को निर्माणमा खर्च गर्ने यी जोडीले बताएका छन् ।

बुधबार राजधानीमा चलचित्र सेन्टी भाइरसको ट्रेलर रिलिजका क्रममा अभिनेता एवं यो चलचित्रका निर्माता कट्टेलले यस्तो जानकारी गराएका हुन्,‘अहिले बिहान ६ बजेदेखि राति १० बजेसम्म मसहित हामी सबै आफ्ना परिवार अन्य सुख छाडेर चितवनमा गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माणमा जुटेका छौं । यसै क्रममा आर्थिक संकलनमा लाग्न नसकेका कारण हामीले निर्माण गरेको चलचित्र एन्टीभाइरसको नाफाको आधा रकम यो रंगशालामा खर्च गर्ने निर्णयमा पुगेका हौं ।’

अभिनेता एवं निर्माता कट्टेलका अनुसार फिल्ममा अरूको पनि लगानी रहेको छ । जसमध्येबाट आफू र कुञ्जनाको सेयरअन्तर्गत कुल नाफाको आधा रकम रंगशालामा खर्च गर्न लागिएको पनि अभिनेता कट्टेलले बताएका छन् । यसरी, अब चलचित्र सेन्टी भाइरस दर्शकले हेरेको खन्डमा त्यो टिकटको पैसाको केही रकम क्रिकेट रंगशाला निर्माणमा खर्च हुने छ । त्यसैले चलचित्र सेन्टी भाइरस हेरेर सो टिकटको पैसाबाट दर्शकले यो सामाजिक कार्यलाई साथ दिनका लागि पनि अभिनेता कट्टेलले अनुरोध गरेका छन् ।

ट्रेलर रिलिज समारोहमा निकै भावुक हुँदै अभिनेता कट्टेलले भने,‘यो रंगशाला निर्माणको क्रममा सानी छोरी, श्रीमती र परिवारका सबै सदस्यलाई घरमा छाडेर म १६ घण्टासम्म मजदुर साथीसँग मैदानमा खटिरहेको छु । मुलुकमा सरकारले गर्नुपर्ने यस्ता महŒवपूर्ण योजनालाई बेवास्ता गरेपछि निरन्तर कलाकारिता गर्नेलगायत विभिन्न कर्तव्य र रहर छाडेर म र कुञ्जना सामाजिक अभियान्ताका रूपमा यसरी उत्रनु परेको हो ।’ तर, दर्शककै बारम्बारको अनुरोधका आधारमा यसपटक आफूहरूले केही फुर्सद निकालेर चलचित्र सेन्टी भाइरसमा काम गरेको पनि अभिनेता सीताराम कट्टेलले बताए ।

अभिनेत्री कुञ्जना घिमिरेले पनि गहभरि आँसु पार्दै क्रिकेट रंगशाला निर्माणसहित यस अघिको प्रोजेक्टमा काम गर्दा धेरैपटक आफूले भोक प्यास र परिवार त्याग्नुपरेको बताइन् । समग्र शुभचिन्तकको साथ र सहयोगले आफूहरूको अहिलेसम्मका परियोजना सफल भएको र यसपटक पनि सफल हुने उनले जिकिर गरिन् । चलचित्र भाइरस पनि क्रिकेट रंगशालाकै एउटा सहायक परियोजना भएको उनले बताइन् । चलचित्रको मुनाफा क्रिकेट निर्माणमा लगानी गर्ने भएकाले यसलाई पनि साथ दिन उनले अनुरोध गरिन् ।

आगामी ९ फागुनबाट रिलिज हुने चलचित्र सेन्टी भाइरसको ट्रेलर रिलिजका लागि बुधबार मध्यान्नमा मात्र धुमुर्स सुन्तली चितवनबाट काठमाडौं आएका हुन् । रामबाबु गुरुङले निर्देशन गरेको यो चलिचत्रमा धुमुर्स सुन्तलीसँग दयाहाङ राई, राजाराम पौडेल, बुद्धि तामाङ, सन्दीप क्षत्री, कुमार कट्टेल, दीपक आचार्यसहित विभिन्न कलाकारको अभिनय रहेको छ । कुमार र दीपकले यो चलचित्रको स्क्रिप्ट लेखेका हुन् । राजधानी दैनिकबाट