रुक्माङगत कटवाल प्रकरणका बेला एमालेमा तरङ्ग ल्याउने मै हुँ : रामचन्द्र पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सेनापति रुक्माङगत कटवाल प्रकरणका बेला आफूले तत्कालिन नेकपा एमालेमा तरङ्ग ल्याएको खुलासा गरेका छन् ।

प्रेस युनियनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता पौडेलले पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री भएको बेला सेनामा हात हाल्दा आफूले नै रोकेको बताए ।

‘कटवाल प्रकरणका बेला पुष्पकमल दाहाल प्रचण्ड बहुमत लिएर आएका प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यही संसदबाट, पशुपतिनाथका पुजारी प्रकरणदेखि लिएर सेनापति रुक्माङगत प्रकरणसम्म पुग्दा प्रचण्डले राजीनामा गरेर हिँड्न प‍र्यो’, उनले भने, ‘कसले पा‍र्यो त्यो ? सबैले मानिसकेका थिए । गिरिजाबाबुले मानिसकेको प्रमाण दिउँ ? सुजाताले गएर भनिदिनुभयो संसदीय दलमा, यो खड्का (खुमबहादुर खड्का) र कटुवाल (रुक्माङ्गत कटुवाल) को के मतलब हामीलाई ? बोलेकै हो नि संसदीय दलमा गएर । त्यो कसले बोल्या ?’

नेता पौडेलले तत्कालिन एमाले अध्यक्ष झलनाथ खनालले सेनापतिबाट कटवाललाई हटाउने स्वीकृति दिएर चीन गएकै खुलासा गरे । ‘त्यतिखेरका प्रमुख नेता भनेका सबैको सहमति लिएर प्रचण्डले सेनामा हात हालेको हो’, उनले भने, ‘म नै त्यो मान्छे हो, जसले, दलको नेता थिएँ । एकैचोटि उठेर ए, भर्खर वनबाट आएको तपाँई सेनामा हात हाल्ने ? सत्ता कब्जा गर्न खोजेको ? यो मान्दिनँ भनेर निस्कने वित्तिकै एमालेमा पनि तरङ्ग उठ्यो ।’

उनले केपी शर्मा ओली र विद्या भण्डारीसँग सहकार्य गरेर प्रचण्डलाई राजीनामा गराउन आफ्नो भूमिका महत्वपूण रहेको बताए । उनले प्रजातन्त्र बचाउन आफूले महत्वपूर्ण रोल खेलेको बताए ।

‘केपी ओली र विद्या ( राष्ट्रपति) म सँग जान तयार भए । यिनलाई लिएर राष्ट्रपति (रामवरण) कहाँ गएँ । राष्ट्रपति थुरथुर’, उनले भने, ‘न सचिवले कलम चलाउँछ, न कुनै कर्मचारी त्यहाँ थिए । हामी पुगेर हेर्नुस् संसदको बहुमत, तपाँई परमाधिपति, लेख्नुस् भनेपछि सचिव आए । संसदको सबै बहुमत भनेपछि संसदमा चिठी पुर्‍याइयो । राति १२ बजेपछि ‘टेकओभर’ भइहाल्थ्यो । ‘टेकओभर’ भएको भए के हुन्थ्यो थाहा छ ? त्यति ठूलो महत्वकांक्षा लिएको शक्तिले के गथ्र्याे ? त्यो अवस्थाबाट प्रजातन्त्रलाई बचाएको हो ।’