महानायक हमाललाई चलचित्र विकास बोर्डको अध्यक्ष बनाउँन प्रधानमन्त्री ओली इच्छुक

काठमाडौं । नेपालको चलचित्र क्षेत्रमा महानायकको उपाधि पाएका राजेश हमाल अधिक समय मौन रहने गर्छन । उनलाई समयसमयमा राजनीतिमा आउँन लागे भनेर पनि हल्ला गर्ने गरिएको छ । तर उनलाई यस क्षेत्रमा अहिले तत्काल कुनै रुची देखिएको छैन । यो बीचमा नेपाली फिल्म क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्ष पदमा उनलाई ल्याउन लागिएको चर्चा सुरु भएको छ ।

यो पद गत मंसिर २९ गते बहालवाला अध्यक्ष केशव भट्टराईको असामयिक निधनपछि खाली छ । रिक्त बोर्ड अध्यक्ष पद हत्याउन यतिबेला हिट, फ्लप, नयाँ पुराना सबै किसिमका फिल्मकर्मी शक्ति केन्द्र धाइरहेका छन् । यो भिडमा हमालको नाम पनि चर्चामा देखिएको छ । यो पदका लागि हमाल कुदेका छैनन् ।

यहाँ हमाललाई अध्यक्ष बनाउन स्वयम प्रधानमन्त्री केपी शर्मा ओलीले नै चासो दिएको कुरा बाहिर आएको छ । राजेशलाई अहिले बोर्डमा जाने मन छैन । तर नजिकका साथीहरुले भने बोर्ड अध्यक्ष बन्न सुझाएका छन् । विकास बोर्ड अध्यक्षमा आफ्नो चासो रहेको वा नरहेको भन्ने विषयमा अभिनेता हमालले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।