आईपीएलको १३ औं संस्करणको मिती सार्वजनिक

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं संस्करणको मिती सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्टोल बोर्ड (बिसिसिआई) का अध्यक्ष सौरभ गांगुलीका अनुसार आगामी संस्करणको आईपीएल चैत्र १६ देखि जेठ ११ (मार्च २९ देखि मे २४) सम्म भारतका विभिन्न सहरमा हुने छ । यसपटकको आईपिएलको उद्घाटन र फाइनल मुम्बईमा हुने छ।

यसपटक पाँच दिनमात्र दिनमा दुई खेल हुने छ । सबै खेल नेपाली समय अनुसार बेलुका ७:४५ देखी सुरु हुने छन् । दिनमा दुई खेल भएको दिन पहिलो खेल ३:४५ देखी सुरु हुने छ । यसपटक कुनै खेलाडी घाइते भएर पूर्ण रुपमा होस नआएपछि खेल्न नसकेको खण्डमा उसको स्थानमा अर्को खेलाडी खेल्न पाउने छ । जुन नियम आईसीसीले लागु गरिसकेको छ । सबैभन्दा पहिला उक्त नियम इंग्ल्यान्ड र अस्ट्रेलियासँगको दोस्रो टेष्टमा प्रयोग भएको थियो । जोफ्रा आर्चरको बाउन्सर बलले लागेर स्टिभ स्मिथ घाइते भएपछि उनको स्थानमा मार्नस लाबुसेनले ब्याटिङ गरेका थिए।

त्यस्तै टिभी एम्पायरले हरेक बल नो बल छ वा छैन भनेर चेक गर्ने छन् । गत वर्ष नो को कारण विराट कोहलीले एम्पायरमाथि असन्तुष्टि जनाएका थिए । मुम्बईसँगको खेलमा तीब्र गतिका बलर लासिथा मलिङ्गाले नो बल फालेपनि एम्पायरले ध्यान नदिँदा दिएका थिएनन् । जसको कारण विवाद उत्पन्न भएको थियो । यस नयाँ नियमले अव उक्त विवाद उत्पन्न हुन दिने छैन।

यसपटक आईपीएल सुरु हुनुभन्दा केहि दिन अघि विशेष खेलका रुपमा अलस्टार म्याच पनि हुने सम्भावना रहेको छ । यसबारे औपचारिक जानकारी भने आएको छैन । सबै ८ टोलीका खेलाडी समेटेर २ टोली निर्माण गरिने र मैत्रीपूर्ण खेल हुने बुझिएको छ । त्यस्तै महिलातर्फ पनि ४ टोली सम्मिलित प्रतियोगिता गर्ने तयारी भइरहेको छ।

पुषमा सम्पन्न भएको आईपीएल अक्सनमा अस्ट्रेलियाका तीब्र गतिका बलर प्याट कमिन्स कोलकाता नाइट राइडर्सले १५.५ करोड भारतीय रुपैयाँ अनुबन्ध गरेको थियो । जुन आईपिएल इतिहासमा विदेशी खेलाडीले पाएको सर्वाधिक मूल्यमा पर्दछ । नेपाली लेग स्पिनर सन्दीप लामिछानले तीन वर्षे सम्झौता अनुसार दिल्ली क्यापिटल्सबाट खेल्ने छन्।