संसदमा ओली देउवावीच ‘धक्का’ प्रकरण

काठमाडौ। मंगलबार प्रतिनिधि सभा बैठकमा नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष २०२० को प्रसंग निकाले । प्रधानमन्त्री ओलीले नेपाल भ्रमण वर्षलाई प्राकृतिक रूपमा धक्का लागेको बताए ।

‘नयाँ वर्षलाई हामीले नेपाल भ्रमण वर्षका रूपमा अगाडि सारेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘यसमा शुरूमै हामीले केही धक्काका संकेत देखेका छौं । प्राकृतिक हिसाबले देखापरेका छन्, जसलाई सावधानीपूर्वक अघि बढ्नुपर्ने छ, सरकार त्यसको तयारीका रूपमा लागेको छ ।’

धक्काको कुरा गरेपनि भ्रमण वर्षलाई कसरी धक्का लाग्यो भनेर विस्तृतमा भने प्रधानमन्त्री ओलीले खुलाएनन् । नेकपाका एक सांसदले चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण पर्यटन भ्रमण वर्षमा धक्का लाग्न सक्ने प्रधानमन्त्रीको आशय हुनसक्ने बताए ।

तर प्रधानमन्त्रीले प्रयोग गरेको ‘धक्का’ शब्द प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुझेनन् । ओलीले सम्बोधन गरेकै रोष्ट्रममा उभिएर देउवाले प्रश्न गरे, ‘प्रधानमन्त्रीले धक्काको कुरा गर्नुभयो, मैले नयाँ कुरा सुने । कसले धक्का दिन सक्छ हामीले पनि हेरौं । कसले दिँदैछ प्रधानमन्त्रीले भन्नुभएको छैन ।’

सम्बोधन सकेर बेलमा फर्केपछि ओली र देउवाबीच केहीबेर भलाकुसारी भयो । देउवा आफ्नो सीटमा बसेपछि देउवातर्फ फर्केर ओलीले केही कुरा भनेका थिए । उनीहरूको ठट्टा सुनेका मन्त्री र सांसदहरू हाँसेको दृश्य देखिएको थियो । देउवाको सम्बोधनलगत्तै राष्ट्रिय जनता पार्टी (राजपा)का महेन्द्रराय यादव बोल्न थालेपछि प्रधानमन्त्री ओली उठेर आनो कार्यकक्षतर्फ लागेका थिए ।