सभामुखको सपथ खाएलगत्तै अग्नि एमसीसीविरुद्ध, प्रधानमन्त्री चिन्तित्

काठमाडौं । सभामुख पदको सपथ लिए लगत्तै अग्निप्रसाद सापकोटाले दिएको अभिव्यक्तिले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्नुपर्ने दबाबमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली चिन्तित् बनेका छन् । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । यसपछि प्रतिक्रिया दिने क्रममा उनले एमसीसीबारे हतारिनु नपर्ने बताए । यसबारे बहस भइरहेकाले अहिले हतार गर्नुपर्ने अवस्था नरहेको उनले प्रतिक्रिया दिए ।

प्रधानमन्त्री ओलीसहित पूर्व एमाले पक्षधर एमसीसीको पक्षमा देखिएका छन् भने पुष्पकमल दाहाल प्रचण्ड, देव गुरुङ, जनार्दन शर्मासहित पूर्वमाओवादी पक्षधर नेता एमसीसीको विपक्षमा देखिँदै आएका छन् । यसैबेला प्रचण्डनिकट मानिने नेता तथा नवनिर्वाचित सभामुख अग्निको एमसीसीबारे सार्वजनिक अभिव्यक्तिले प्रधानमन्त्री ओली चिन्तित् बनेका हुन् ।

नेपालको विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नतिका लागि घोषणा गरेको ५० करोड अमेरिकी डलर अनुदान परिचालन गरिने सम्झौता एमसीसी संसदबाट अनुमोदन गराउनु पर्नेछ । तर, यसमा महत्वपूर्ण भूमिका रहने सभामुख सापकोटाको अभिव्यक्तिले एमसीसीको भविष्य अझै अन्योलमा देखिन्छ । एमसीसी कार्यान्वयन हुन सरकार र एमसीसीबीच भएको सम्झौता संसद्बाट पारित हुनुपर्ने सर्त छ।

सरकार र एमसीसीबीच अनुदान सम्झौता (एमसीसी कम्प्याक्ट) मा २६ महिनाअघि तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका तत्कालीन कार्यवाहक सीईओ जोनाथन नाशले हस्ताक्षर गरेका थिए। उक्त सम्झौतापत्र अनुमोदनका लागि संसदमा दर्ता गरिएको छ । मन्त्रिपरिषद्को स्वीकृतिपछि अर्थमन्त्री डा. युवराज खतिवडाले गत असार ३१ मा संसदमा यो प्रस्ताव दर्ता गराएका थिए। नेपाल मात्र होइन २७ देशमा एमसीसीको अनुदान सहयोग छ। १७ देशमा नेपालमा जस्तै सहयोग कार्यान्वयन सुरु हुने चरणमा छ। १० देशमा परियोजना कार्यान्वयनमा गइसकेको छ।