सभामुख पदमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित

काठमाडौ। प्रतिनिधि सभाको सभामुखमा नेकपा सांसद अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधि सभामा सभामुखका लागि एकमात्र प्रस्ताव परेकाले सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा सभाको अध्यक्षता गरेका जेष्ठ सदस्य महन्थ ठाकुरले गरेका हुन् ।

त्यसअघि सापकोटालाई सभामुखमा प्रस्ताव गर्दै पूर्वसभामुख सुवासचन्द्र नेवाङले उनी सभामुखका लागि योग्य रहेको बताए । नेम्वाङको प्रस्तावलाई पूर्वसभामुख ओनसरी घर्ती मगर, नेकपा प्रमुख सचेतक देवप्रसाद गुरुङ र राजपाका लक्ष्मणलाल कर्णले समर्थन गरे ।

सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि असोज १४ गतेयता प्रतिनिधि सभा सभामुखविहीन थियो । एकै पार्टीबाट सभामुख र उपसभामुख हुन संवैधानिक अड्चन देखिएपछि उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले पनि गत साता राजीनामा दिएकी थिइन् ।

सभामुख र उपसभामुख दुवैको राजीनामापछि जेष्ठ सदस्य महन्थ ठाकुरले बैठकको अध्यक्षता गरेका हुन् । सभामुख निर्वाचन सम्पन्न भएसँगै अब केही दिनमा उपसभामुख चयनको प्रक्रिया शुरू हुने संसद् सचिवालय स्रोतले जनाएको छ ।