यस वर्षको उत्कृष्ट बाहिनी अवार्ड डीआईजी अर्याललाई

काठमाडौं । सशस्त्र प्रहरी बलले यस वर्षको उत्कृष्ट बाहिनी अवार्ड नम्बर २ छिन्नमस्ता बाहिनीलाई प्रदान गर्ने निर्णय गरेको छ । सो बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजु अर्याललाई बिहीबार हुन लागेको १९ औं सशस्त्र प्रहरी दिवसको वार्षिकोत्सवका अवसरमा सो अवार्ड प्रदान गरिने भएको छ ।

सशस्त्र प्रहरीले गतवर्षदेखि उत्कृष्ट बाहिनी अवार्ड दिन थालेको हो । बाहिनी कार्यालयमध्ये उत्कृष्ट काम गर्नेलाई सो अवार्ड प्रदान गर्ने गरिन्छ । सशस्त्रमा सात प्रदेशमा गरी सात र उपत्यका बाहिनी गरी आठ वटा बाहिनी कार्यालय रहेको छ ।

गतवर्ष सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालय रुपन्देही नम्बर ५ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक चिरञ्जीवी अधिकारीलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गरिएको थियो ।

यसैगरी, सशस्त्र प्रहरी बलले साहसिक उद्धारक सशस्त्र प्रहरी सहायक हवल्दार ललितबहादुर खाम्चालाई यो वर्षको वर्ष जवान छनोट गरेको छ। सशस्त्र प्रहरी बलले संगठनमा पु¥याएको योगदानको उच्च कदर गर्दै खाम्चालाई वर्ष जवान (२०७६) घोषणा गरेको हो । उनलाई पनि बिहीबार हुन गइरहेको वार्षिकोत्सव कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालबाट वर्ष जवानको ट्याग प्रदान गरिने भएको छ ।