सुन भनेपछि किन हुरुक्क हुन्छन् नेपाली महिला ?

  • रेणुका पाण्डे देवकोटा 

आफूसँग नभए नजिकका आफन्त, मन मिल्ने साथी र छिमेकीका सुनका गहना मागेर बिहे भोजभतेरमा जाने नेपाली सँस्कृतिमा हुर्किएकी म स्वीजरल्याण्डको जेनेभा आएपछि अचम्मै परें।

संयुक्त राष्ट्रसंघको जेनेभा कार्यालय जाँदा बाटोमा साइकल चढेर गएका बूचा महिलाहरू, छोराछोरीलाई ठेलागाडा जस्ता केटाकेटी बोक्ने तीनपांग्रे साइकलमा बिहानै केटाकेटी हेर्ने धाइआमाकहाँ छोडेर काममा जान हतारिएका महिलाहरू देखेर मलाई त विश्वासै लागेन।

महिनामा हजारौं डलर तलब खाने कर्मचारीहरूको साधारण पहिरन देखेकै थिएँ, गएको साता एक जना स्विस नागरिकको बिहे भोजमा गएपछि भने अचम्मै मानेँ। त्यहाँ महिलाहरूले नेपालमा जस्तै गहना छपक्क लगाएर आएका थिएनन् । न त एकदम रातो गाढा पहिरन उनीहरूको थियो।

हामीकहाँ किन महिलाहरूमा यति सारो सुनप्रतिको मोह बढेको होला? मेरो बुझाइमा यो हाम्रो सामाजिक चेतनास्तरको प्रतिविम्ब हो।

एक्काइसौं शताब्दीको गणतन्त्रमय नेपालमा दिन दुगुना रात चौगुना सुनको भाउ बढे पनि किन्नेहरूले किनेकै छन्। लगाउनेले लगाएकै छन्। पार्टी प्यालेसहरू ढोकाढोकामै खुलिसके।

ब्रतबन्ध, पास्नी र हाम्रा आमाहरूले सुन्दै नसुनेको दुई जीउकी महिलाको बेवी सावरका भतेर यिनै पार्टी प्यालेसमा हुन थालेका छन्। कोही कसैले पार्टी प्यालेसको खानेकुराको स्तर, मिति गुज्रिएको नगुज्रिएको सोधीखोजी गर्दैन।

मानिसहरूको हैसियत उनीहरूको पहिरन र सुनको आधारमा हुन थालेपछि भन्नैपर्छ, मानिसहरूको बौद्धिकताको मापन गर्ने चलन हराएकै हो त हामीकहाँ ?

म आम नेपाली ग्रामीण दिदीबहिनीको मानसिकताको कुरा गरिरहेकी छु। पञ्चायतकालदेखि अलिक अस्तिसम्म ‘टुहुरेको आमा दिदी बहिनी हो कति बस्छौ दासी भई सुखको सधै प्यासी बनेर’ भनी कलेजहरूमा गीत गाउने दिदीबहिनीहरू आज संसदमा छन्। जनयुद्धमा ज्यानको बाजी थापेर लडेका नारीहरू केही नीति निमार्णको तहमा पनि छन्।

कोही मिडिया प्रतिष्ठानहरूमा छन्। विभिन्न पेशा र समुदायमा आवद्ध महिलाहरू जब कुनै पारिवारिक जमघटमा भेटिन्छन्, उनीहरूलाई भिन्नै रूपमा देख्दा मलाई नरमाइलो लाग्छ। जब बिहेमा सुन मुख्य मुद्दा बन्छ, कार दाइजो बन्छ, नभए मोटरसाइकल उपहार बन्छ, अनि मलाई धिक्कार लागेर आउँछ। हामीले बराबरीको कुरा किन गरेको? समाजका कुरीतिहरू फेर्छौं किन भनेको ? के यही हिसाबले समाज फेरिन्छ?

अहिले उपसभामुख शिवमाया तुम्बाहाङ्फेको विषयले बजार र मिडिया निकै तातेको छ।

नेपालको राजनीतिमा केही हदसम्म चासो राख्ने म यसबारे बुझ्न मैले सँगै हाइस्कूलमा पढाएकी साथी जमुनालाई फोन गरेँ।

गाउँतिर उपसभामुखको कुरा कत्तिको चर्चाको विषय हुन्छ नि? भन्दा जमुनाले भनी, सुन हो र भाउ कति पुग्यो भनेर सोध्न? आ.. मलाई के मतलब जो आए पनि हामीलाई हुने क्यै हैन क्यारे। समाचारले भन्छ। हामीलाई के को मतलब?

जमुनाले भनी, ‘ह्वाँ पुगेर पनि के को राजनीतिको तनाव लिन्छेस्। देश यसै पनि चल्छ। बरु आउँदा मिल्यो भनेर स्विसको २४ क्यारेटको सुन ल्याइदे। जे जे सुनाउने हो आएर सुनाउनू।’

रेमिटेन्सले गाउँमा पुगेको पैसा घरघडेरी र सुनमा लगानी भएको छ।

युरोपका केही देशको घुमघामपछि मलाई चस्स घोँचिरहने प्रश्न यही रह्यो, उच्च शिक्षा हासिल गरेका विकसित महिलाहरूले सुनको गरगहना झपक्क लगाउन नपर्ने, हामी अरबको खाडीमा लोग्नेलाई मृत्युको मुखमा पुर्याएर झकिझकाउ भएर किन हिँड्नुपर्ने?

दाइजोका नाममा चर्को ब्याजमा ऋण काढी काढी किन महँगा सामान दिनुपर्ने। त्यसको साटो कुनै सीप, उचित शिक्षा दिन सक्ने अथवा दिने वातावरण मिलाइदिन सके, त्यही नै ठूलो सम्पत्ति हुनेछ।

नेपालका कम्युनिष्ट पार्टीहरूले निकै चर्काचर्की रूपमा उठाउने गरेको मुद्दा यो हो भन्ने मलाई लाग्छ। आजकल उनीहरू पनि यो मुद्दाबाट धेरै पर पुगिसके।

सर्वहारा पार्टीको नेताको बिहेमा जाँदा देखिने दाइजो, सुन र महँगो भोज भतेर, अनि सर्वहाराको राजनीति गर्नेहरूको पहिरनबाटै यो गफैमात्रै रहेछ भन्ने प्रतीत हुन्छ। यो त भएन कमरेड भन्यो भने, म एक्लैले गरेर के गर्नु भन्ने जवाफ आउँछ। सबैले म एक्लैले गरेर के हुन्छ भन्न थाल्ने हो भने नहुने र नसक्नेहरू समाजमा दोस्रो दर्जाको नागरिकको रूपमा बस्नुपर्ने हुन्छ।

अरुलाई ठगेर, लुटेर र राज्यको सम्पत्तिमा भ्रष्टाचार गरेर थुपार्नेहरु हाइहाइ हुने तर शिक्षक,प्राध्यापक जस्ता आदर्शमय पेशा जसले कसैको भविष्य निर्धारण गर्छ उनीहरू अपमानित भएर बाँच्नुपर्ने हुनसक्छ। जसरी पनि पैसा नकमाइ नहुने स्थितिमा पुगेपछि मान्छे जे जस्तो अ प राध,बदमासीतिर पनि अग्रसर हुनपुग्छ। अन्तत: समाज दलालहरूको कब्जामा जान पुग्छ। जुन अहिले हामीकहाँ भैरहेको छ।

झट्ट हेर्दा सुनप्रति महिलाको मोह सामान्य देखिए पनि यसको जालो समाजको पिँधसम्मै छ।