राजतन्त्र विरोधी नेकपा नेता बिडारीसँग जम्काभेट पछि जब पूर्वराजा ज्ञानेन्द्रले तारिफ गरे…

काठमाडौं। राष्ट्रिय सभामा समय समयमा दिएका अभिब्यक्तिका कारण चर्चामा आउने नेकपाका नेता तथा सांसद हुन् रामनारायण विडारी । उनको बोल्ने शैली र तर्कले चर्चित हुन्छन् । १४ वर्षको उमेर देखि राजतन्त्रको विरोध गर्दै आएका उनै विडारीको जव विमानस्थलमा पूर्वराजासंग जम्का भेट हुन्छ। त्यतीबेला के हुन्छ होला ? रामचन्द्र विडारीले त्यतीबेलाको आफ्नो पललाई सामाजिक सञ्जाल फेसवुकमा उल्लेख गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह पछिल्लो समय राजनीतिक दलका नेतासँग घुलमिल हुने गरेका छन् । अचानक कतै राजनीतिक दलका नेताहरुसंग भेट हुँदा उनले शिष्टाचार निभाउन भुल्दैनन्। शान्त देखिने पूर्वराजा ज्ञानेन्द्रलाई भेटेपछि उनका विरोधीहरु पनि प्रशंसा गर्न थाल्छन् । उनले आफूले चिनेको नेतालाई पहिल्यै नमस्कार गर्ने र छोटो कुराकानी गर्ने गर्छन् ।

अघिल्लो साता कांग्रेस युवा नेता चन्द्र भण्डारीलाई भद्रपुर विमानस्थलमा भेट्नेवित्तिकै पूर्वराजाले अभिवादन गर्दै संवाद थालेका थिए । नेता भण्डारीले पूर्वराजासँग छोटो संवाद गरेको र उनको शिष्टताबाट आफू प्रभावित भएको उल्लेख गरेका थिए ।

तर राजतन्त्रलाई आफ्नो दुश्मन नै सम्झने पूर्वमाओवादी नेता पनि उनको ब्यक्तित्ववाट प्रभावित भए । विडारी नेकपाका नेता मात्र नभएर एक कानुन ब्यवसायी पनि हुन् । कानुन व्यवसायी रामनारायण बिडारीसँग पनि पूर्वराजा शाहको विमानस्थलमा भेट भएको छ । दुवैबीच भैरहवा विमानस्थलमा सोमबार जम्काभेट भएको हो ।

बिडारी राष्ट्रिय सभाका सदस्य पनि हुन् । राष्ट्रिय सभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापतिसमेत रहेका बिडारीलाई भेट्नेवित्तिकै पूर्वराजा शाहले अभिवादन गर्दै छोटो संवाद गरेका थिए । पूर्वराजाले भने, ‘तपाईंको अभिव्यक्तिहरु म युट्युब र समाचारहरुमा हेर्दै आएको छु । राम्रो छ । अहिले जाउँ है त ।’

पूर्वराजाले छोटोमा कुराकानी गरेपछि बिडारी मुस्कुराएर अभिवादन फर्काएका थिए । १४ वर्षको उमेरदेखि नै राजतन्त्रको विरोध गर्दै आएका बिडारीले यसरी एक्कासि पूर्वराजासँग जम्काभेट हुने र आफ्नो तारिफ गर्लान् भनेर सोचेकै थिएनन् । तर, भयो त्यस्तै । त्यसैले उनले पनि त्यतीबेलाको तस्बिर आफ्नो फेसवुक पेजमा राखे ।

सयौं वर्ष लामो राजतन्त्रको अवसान पछि पनि पूर्वराजा ज्ञानेन्द्रको परिवारले देश छोडेन । जनमतको कदर गर्दै सकृय राजतन्त्रवाट विदा भएको उनको परिवार अहिले मुलुकको विभिन्न भागको भ्रमण गर्दै सादगी जिवन विताउँदै छ । भ्रमणका क्रममा उनको विभिन्न राजनीतिक दलका नेताहरुसंग जम्का भेट हुने गरेको छ ।