भाेलिको मौसम: अधिकतम तापक्रम घट्ने, तराईमा शीतलहरकाे सम्भावना

काठमाडौं। पश्चिमी न्यून चापिय वायुका कारण बिहीबार काठमाडौँ उपत्यकासहित देशका धेरैजसो ठाउँमा वर्षा भएको छ। बुधबार मुलुकको पश्चिमी क्षेत्रमा वर्षा भएको थियो।

बिहीबार मध्य र पश्चिमको उच्च हिमाली तथा पहाडी भेगमा हिमपात समेत भयो।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार बुधबार राति पश्चिमबाट नेपाल प्रवेश गरेको यो प्रणाली अहिले मध्य क्षेत्रमा फैलिइसकेको छ ।

पूर्वतर्फ सर्ने क्रममा रहेको वायुको यो प्रणालीले शुक्रबारसम्म पानी पर्ने सम्भावना छ । यद्यपि, झरी भने नहुने जनाइएको छ। देशभरिकै मौसम शुक्रबार रातिसम्म पूर्णरुपमा नखुल्ने र खुलिहाले पनि फेरि बादल लागि हाल्ने सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन्।

तराईमा फेरि हुस्सु र कुहिरो लाग्न सक्ने र फलतः शुक्रबार र शनिबार अधिकतम तापक्रम घट्ने महाशाखाले जनाएको छ।