अर्काको गल्तीमा भागिदार बन्न सक्दिनँ, त्यो पद स्वाभाविक रूपमा मेरो दाबी हो – डा. शिवमाया

काठमाडौं। उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले सभामुख पदमा अन्तिमसम्म अडान नछाड्ने बताएकी छन्। बुधबार गोसाइकुण्ड युवा क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सभामुख पदमा दाबी नछाड्ने बताएकी हुन्।

उनले माघ ६ गते प्रतिनिधिसभाको बैठक डाकेर प्रक्रियाअनुसार चल्ने पनि बताइन् । संघर्ष मेरो अन्तिमसम्म कायम रहने बताउँदै उनले भनिन् ‘संसदले मुल्यांकन गर्न सक्ने भएका कारण एउटै विषयमा अड्किरहनु हुँदैन्।’

सभामुख पदकै कारण संसदलाई धेरै समय रोक्नु नहुने उनको भनाई छ। उनले सभामुख पदमा आफैं सक्षम रहेको संकेत गर्दै यसका लागि विकल्प आवश्यक नपर्ने उनको दाबी थियो।

‘प्रतिनिधिसभा सार्वभौम हो। मैले संविधानलाई कार्यान्वयन गर्छु भन्दा एउटा दलले मलाई निर्देशन दिन सक्दैन,’ उनले अगाडि भनिन् । उपसभामुखलाई राजीनामा गराएर प्रतिनिधिसभालाई दलहरूले नेतृत्वविहीन बनाउन नमिल्ने उनको तर्क छ । संविधानले बीचमा पद खाली बनाउने अवस्था किटान नगरेको उनको जिकिर थियो। उनले दलहरूलाई आफ्नो क्षेत्राधिकारभित्र रहन पनि आग्रह गरिन् । ‘प्रतिनिधिसभालाई रिक्त बनाएर तुरुन्तै राजीनामा दिनेवाला छैन् । संविधानअनुसार आफू निर्वाचित भई शपथ लिएर आएकाले आफ्नो पदबाट राजीनामा नदिने उनको अडान छ ।

‘जब दलले आफ्नो उम्मेदवार तय गर्छ, तब म राजीनामा दिन्छु,’ उनले भनिन्  ‘दलले राजीनामाका लागि निर्देशन दिन सक्दैन्।’ तुम्बाहाङ्फेले आफू ५ वर्ष काम गर्न उपसभामुख निर्वाचित भएको अवस्थामा अझै ३ वर्ष बाँकी रहँदा अस्वाभाविक ढंगले हटाउन नमिल्ने उनको दाबी छ। ‘तत्कालीन सभामुख (कृष्णबहादुर महरा) एउटा घ’टनामा मुछिनुभयो । उहाँको पद खाली भयो, त्यो पद खाली रहेपछि स्वाभाविक रूपमा मेरो दाबी हो,’ उनले भनिन् ‘मैले गल्ती गरेकी छैन । अर्काको गल्तीमा म भागिदार बन्न सक्दिनँ, आफ्नो पद पनि छाड्दिन ।’