भारत-मलेसिया विवाद, महाथिरले भने – हामी झुक्दैनौं

बीबीसी। भारतको काश्मीर विषयमा सुरु भएको भारत-मलेसिया विवाद अहिले राष्ट्रिय पञ्‍जिकरण प्रमाणपत्र (एनआरसी) र नागरिकता संशोधन ऐन (सीएए) को विषयमा थप चुलिएको छ ।

मलेसियाका प्रधानमन्त्री महाथिरले भारतले जम्मु-काश्मीरलाई दिएको विशेषाधिकार खारेज, एनआरसी र सीएएको विषयमा चर्को आलोचना गरेका थिए । महाथिरको आलोचनाको प्रतिक्रिया दिँदै भारतले मलेसियाबाट आयात हुने पाम तेलमा रोक लगाएको छ । भारतले तेल आयातमा प्रतिबन्ध लगाएपछि मलेसियामा विभिन्‍न टिप्पणीहरु भइरहेका छन् ।

प्रधानमन्त्री महाथिरले आफ्नो मुलुकले अर्थतन्त्रलाई नोक्सान पुर्‍याउने काम भारतले गरे पनि गलत विषयमा आवाज उठाइरहने बताए । मलेसियाबाट भारतमा धेरै निर्यात हुनेमध्येको एक हो पाम तेल । इन्डोनेसियापछि पाम तेल उत्पादन र निर्यातमा मलेसिया दोस्रो नम्बरमा पर्छ ।

अहिले प्रधानमन्त्री महाथिरले भारत र साउदी अरेबियालाई मुख्य निशाना बनाएर आलोचना गरिरहेका छन् । काश्मीरको विशेषाधिकार खारेज गरेपछि भारतको आलोचना गर्दै महाथिरले काश्मीरमाथि हमला गरेर आफ्नो कब्जामा राखेको बताएका थिए ।

भारतले मलेसियाबाट आयात हुने पाम तेलमा रोक लगाएपछि मलेसियालाई ठूलो नोक्सान व्यहोर्नुपर्नेछ । तर, महाथिरले यस विषयको चाँडै समाधान खोज्‍ने प्रतिबद्धता जनाएका छन् ।

उनले पत्रकारसँग कुरा गर्दै भने, “हामी यस विषयलाई लिएर चिन्तित छौं । किनकि भारत हाम्रो पाम तेल ठूलो आयातकर्ता मुलुक हो । तर, अर्कोतर्फ कुनै गलत भइरहेको छ भने त्यसका विरुद्ध आवाज उठाउनु पनि जरुरी छ । हामी गलतको गलत नै भन्छौं । यदि हामीले आफ्नो फाइदाका लागि गलतलाई पनि सही भन्‍न थाल्यौं भने गलत हुँदै जान्छ र हामी पनि गलत गर्न सुरु गर्छौं । अन्यले त्यही गल्तीको सिकार हुनुपर्छ । हामी यस विषयले भारतसँग झुक्दैनौं ।”

भारतले पाम तेल आयात बन्द गरेर हुने नोक्सानको भर्पाई पाकिस्तान, फिलिपिन्स, म्यानमार, भियतनाम, इथियोपिया, साउदी अरब, मिस्त्र, अल्जेरिया तथा जोर्डनबाट गर्ने प्रयास भइरहेको मलेसियाले जनाएको छ ।

महाथिर सन् १९८१ देखि २००३ सम्म मलेसियाको प्रधानमन्त्री बनेका थिए भने सन् २०१८ मा फेरि निर्वाचित भएका हुन् । दोस्रोपटक चुनिएपछि पाकिस्तान र मलेसियाबीचको सम्बन्ध थप सुदृढ भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इस्लामिक स्कोलर जाकिर नाइकलाई भारत ल्याउन चाहन्थे । तर, उनी मलेसियामा छन् । महाथिरले जाकिरका विषयमा पनि भारतलाई सहयोग गरेनन्।

मलेसिया र पाकिस्तान विभिन्‍न इस्लामिक संगठन र सहयोगमा एकै ठाउँमा भएको र सन् १९५७ देखि मलेसिया स्वतन्त्र भएदेखि नै पाकिस्तानले मलेसियलाई पहिलो पटक सम्प्रभु मुलुकको मान्यता दिएका थिए ।