यी १७ वर्षीय किशोरले नासा प्रवेश गरेको तेस्रो दिनमै पत्ता लगाए नयाँ ग्रह

एजेन्सी। न्युयोर्कको स्कार्सडेलमा बस्ने १७ वर्षीय वुल्फ ककियरले हाईस्कूल सिध्याउन एक वर्ष मात्र बाँकी हुँदा अन्तरिक्ष नियोग नासामा इन्टर्नशिपको अवसर पाए । त्यसपछि उनी मेरील्यान्डको ग्रीनबेल्टमा रहेको गोडार्ड स्पेस फ्लाइट सेन्टर पुगे।

त्यहाँ पुगेको तेस्रो दिनमै ककियरले दुईवटा तारालाई घुम्ने एक ग्रह पत्ता लगाए ।  टीओआई १३३८बी नाम दिइएको उक्त ग्रह पृथ्वीभन्दा लगभग सात गुणा ठूलो छ र त्यसका दुई तारा छन्। एउटा तारा हाम्रो सूर्यभन्दा १० प्रतिशत ठूलो छ अनि अर्को चाहिँ सूर्यको मासको एक तिहाइ मात्र छ र कम चम्किलो छ ।

ककियरले दोस्रोपटक स्पेस रिसर्च लेबोरेटोरीमा इन्टर्न गरेका हुन् । सन् २०१८ को ग्रीष्ममा उनले नासाको एयरोस्पेस टेक्नोलोजीका अनुसन्धाता रवि कोप्परापुको प्रशिक्षणमा गोल्डीलक्स जोन प्रोजेक्टमा काम गरेका थिए ।

वुल्फलाई स्पेस फ्लाइट कम्प्लेक्समा फेरि इन्टर्न गर्न बोलाइयो तर निर्देशन दिन कोप्पारापु उपलब्ध थिएनन् । वुल्फलाई नासाका रिसर्च सायन्टिस्ट भेसेलिन कोस्तोभको प्रशिक्षणमा राखियो । वुल्फले नासाको ट्रान्जिटिङ एक्सोप्लानेट सर्भे स्याटेलाइटमा काम गरेको कोस्तोभको भनाइ छ ।

त्यसक्रममा एउटा तस्वीर हेर्दा वुल्फले अनौठो कुरा देखे र कोस्तोभलाई त्यसको बारेमा बताए । त्यसपछि वुल्फ र कोस्तोभले घन्टौंसम्म डेटासेटहरूमार्फत त्यसका थप फीचरहरू भेरिफाई गरे ।

त्यसको दुईदेखि तीन महिनापछि वुल्फले पत्ता लगाएको कुरा नयाँ ग्रह भएको पुष्टि भयो । वुल्फले ग्रहको नाम राख्न त पाएनन् तर उनका दाइले त्यसलाई वुल्फटोपिया नाम दिए ।

वुल्फले हाईस्कूल सकेपछि प्रिन्सटन विश्वविद्यालय, स्ट्यानफोर्ड विश्वविद्यालय र एमआईटी जस्ता प्रतिष्ठित शैक्षिक संस्थामा पढ्ने सोच बनाएका छन् । त्यहाँ हुने अन्तरिक्ष भौतिकशास्त्र वा भौतिकशास्त्र अध्ययन गर्नेछन् ।