हिन्दू र मुस्लिमले मिलेर बनाए शिवको मन्दिर

विराटनगर। एक धर्म मान्नेले अर्को धर्म मान्नेलाई धार्मिक काममा सहयोग कमै गर्छन् । धर्म निरपेक्ष राष्ट्र घोषणा भए पनि समाजमा धर्मले धार्मिक कुरामा असर गरिरहेकै छ । तर, मोरङको विराटनगर महानगरपालिका ६ मा भने फरक दृष्य देखिएको छ । यो स्थानमा निर्माण भइरहेको शिव मन्दिरमा मुस्लिम समुदायका संस्थाले भरपूर सहयोग गरिरहेका छन् ।

जातियतासँगै धार्मिक एकताको सन्देश दिन र एक धर्म मान्नेले अर्को धर्म मान्नेलाई पनि सहयोग गर्नुपर्छ भन्ने कुरा आगामी पुस्तालाई सिकाउन यस्तो कार्यको सुरुआत गरेको मुस्लिम समुदायको संस्थाका प्रतिनिधि बताउँछन् ।

अहिले विराटनगर महानगरपालिका ६ मा निर्माण भइरहेको रामेश्वर शिव मन्दिरमा मुस्लिम समुदायको संस्था नेपाल डेभ्लपमेन्ट सोसाइटीले मोटर कलसँगै पानीट्यांकी निर्माण गरेर मन्दिर निर्माण समितिलाई हस्तान्तरण गरेको छ ।
सोसाइटीका मोरङ संयोजक डा. सरिफ आलमले धर्मकै कारण सामाजिक विचलन नहोस् भन्ने उद्देश्य र ज्ञान बाँड्न आफ्नो संस्थाको अग्रसरतामा सहयोग गरेको बताए । उनीहरूको काममा ६ नम्बर वडाध्यक्ष विजय कामतले पनि साथ दिएका थिए ।

‘सामाजिक कार्यमा र धार्मिक सहिष्णुता कायम राख्न साथ दिएको हुँ, नेपाललाई परिवर्तन गर्नुपर्छ भने तल्लो तहबाटै गर्नुपर्छ’, अध्यक्ष कामतले भने । आठ कठ्ठा क्षेत्रफलमा निर्माणाधीन सो मन्दिर डेढ दसकदेखि निर्माणाधीन छ ।

पछिल्लो समय स्थानीय तहको निर्वाचनपछि वडाध्यक्षको पहलमा महेन्द्र भण्डारीको अध्यक्षतामा २९ सदस्य निर्माण समिति बनाएर मन्दिर निर्माणको काम अघि बढेको छ । सहयोगी संस्था सोसाइटीले शिक्षासँगै विपन्न वर्गलाई आत्मनिर्भर बनाउनेजस्ता समाजिक काम पनि गर्दै आएको छ।