आज बेलुकाबाट फेरी वर्षा र हिमपातको सम्भावना

काठमाडौ। वर्षा र हिमपातपछि आइतबारदेखि सुधार हुँदै आएको मौसम मंगलबार बेलुकाबाट फेरि प्रभावित हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार रातिदेखि नेपालको पश्चिमी भू-भाग हुँदै प्रवेश गरेको पश्चिमी वायुको प्रभावले मगलबार मुलुकको अधिकांश भूभागमा आंशिकदेखि पूर्ण बदली रही देशको उच्च पहाडी र हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

बुधबार र बिहीबार देशभर आंशिकदेखि पूर्ण बदली रही काठमाडौँ उपत्यकासहित देशको अधिकांश भूभागमा हल्का वर्षाका साथै उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ ।

राति देशको पश्चिमी भू-भागका साथै मध्य र पूर्वका पहाडी भू-भागमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात हुनाका साथै मध्य र पूर्वी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।