घुम्न आएका विदेशी पर्यटक गुनासो – नेपालमा सडक खराब, प्रदुषण धेरै (भिडियो)

काठमाडौं। नेपालले गएको बुधबार औपचारिक रूपमा ‘भिजिट नेपाल २०२०’ को शुभारम्भ गर्‍यो। यस वर्ष २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने नेपालको लक्ष्य राखेको छ।

गत वर्ष ११ लाख ७३ हजार विदेशी पर्यटक नेपाल आएका थिए। यो वर्ष झन्डै दोब्बर पर्यटक नेपाल ल्याउने सरकारको लक्ष्य छ।

नेपाल घुमेर फर्केका पर्यटकसँग विमानस्थलमा कुरा गर्दा उनीहरूले नेपालको सडक राम्रो नभएको र प्रदुषण बढी भएको गुनासो पोखेका छन्।

डेढ महिना नेपाल घुमेर फर्केका जर्मनीका जोनाथनले आफूले नेपालमा ट्रेकिङ र स्थानीय खानाको स्वाद लिए पनि खराब सडक र प्रदुषणले गर्दा आफ्नो भ्रमण प्रभावित भएको गुनासो गरे।

सडक र प्रदुषण सुधार गर्नसके नेपालले थप पर्यटक आकर्षित गर्नसक्ने उनको विश्वास छ। अन्नपूर्ण ट्रेकिङ सकाएर फर्केका उनको अर्को वर्ष पनि नेपाल आउने इच्छा छ।

फिनल्यान्डका यू सी पनि दुई हप्ता नेपाल घुमेर फर्किँदै थिए। उनले पनि नेपालमा फोहोर र प्रदुषण बढी रहेको महशुस गरे। मुख्य सहरमै बढी फोहोर र प्रदुषण रहेको उनले सुनाए। आफूले काठमाडौंभन्दा पोखरामा कम प्रदुषण महशुस गरेको बताए।

विदेशी पर्यटकहरु नेपालका गाउँठाउँ घुम्न आउने भएकाले ती ठाउँहरूमा सडक राम्रो भए पर्यटकलाई धेरै सहज हुने उनको सुझाव छ।

सेतोपाटीले तयार पारेको यो भिडियो रिपोर्ट हेर्नुहोस: