जुनसुकै हालतमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ, नत्र फास्ट ट्रयाक पनि चल्दैन : मन्त्री भट्टराई

काठमाडौ। संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले जुनसुकै हालतमा पनि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्ने बताउनुभएको छ ।

नेपाल भ्रमण वर्षको उद्घाटन समारोहलाई लक्षित गरी काठमाण्डाै उपत्यकाभित्रका पालिकाप्रमुखहरुको छलफलमा मन्त्री भट्टराईले अबको डेढ-दुइ वर्षपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु धान्न नसक्ने भएकाले निजगढमा विमानस्थल बनाउनुको अर्को विकल्प नभएको बताउनुभयो ।

नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्‍याउने लक्ष्य रहेको र पर्यटनकै माध्यमबाट देशको समृद्धिको कल्पना गरिएको भन्दै मन्त्री भट्टराईले पर्यटन क्षेत्रको विकासको लागि निजगढमा विमानस्थल नभइ नहुने पनि दावी गर्नुभयो ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक ८० लाख यात्रु धान्न सक्छ, अहिले नै वार्षिक ७२ लाख यात्रु यही विमानस्थल भएर ओहोरदोहोर गरेका छन्, अबको डेढ-दुई वर्षभित्रै यो विमानस्थले थप यात्रु धान्न सक्दैन’, मन्त्री भट्टराईले भन्नुभयो, ‘हामीले बर्सेनि करोड यात्रु ल्याउने कल्पना गरेका छौँ तर त्यति यात्रु धान्ने विमानस्थल पनि बनाउन थाल्नुपर्छ । त्यसका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अत्यावश्यक छ ।’

मन्त्री भट्टराईले विश्वका केहि ठूला विमानस्थल र ठूला सहर २ घन्टाको दूरीमा रहेका र फाष्टट्रयाक बनेपछि काठमाण्डौ र निजगढको दूरी पनि १ घन्टामा छोटिने दावी गर्नुभयो ।

मन्त्री भट्टराईले निजगढ विमानस्थन नबनेसम्म काठमाण्डौ–तराइ द्रुतमार्ग पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसक्ने बताउनुभयो । ‘१ खर्ब रुपैयाँभन्दा धेरै लगानी लगाएर हामीले फाष्टट्रयाक निर्माण गरिरहेका छौँ, यदि निजगढमा विमानस्थल बनेन भने अहिले जस्तै यात्रु आसोरेर फाष्टट्रयाकको सञ्चालन खर्च उठ्दैन, अब विमानस्थल र फाष्टट्रयाकलाई एउटै ढंगले सोचेर अघि बढ्नुपर्छ’, मन्त्री भट्टराईले भन्नुभयो ।