एक गाग्री पानी लिन २ घण्टा पधेँरामा

  • गोपाल पोखरेल 

तीनै तहका सरकार आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेटको पूर्वसन्ध्यामा छन् । संघले त झन् १५ खर्ब रूपैयाँभन्दा माथिको बजेट ल्याउने तयारी गरिरहेको छ । संघीय शासन व्यवस्था आइसकेपछि पनि तीन पटक बजेट आउने बेला भैसक्यो ।

तर पनि जनता भने एक गाग्री पानी लिन एक घण्टाको पैदल हिँड्न बाध्य छन् । कुवा मर्मत नहुँदा, एक–दुई क्वाइल पाइप नुहँदा, ट्यांकी मर्मत नहुँदा वा भएका स्रोतको समुचित व्यवस्थापन हुन नसक्दालगायतले जनता खानेपानीको अभावमा छटपटाइरहेका छन् । यस्तै, खानेपानीको अभावमा बसाइसराइ भएकोलगायतका समस्या पनि नदेखिएको होइनन्।

उदयपुरगढी गाउँपालिका–८ की ७० बर्षीया डम्बरकुमारी मगर हरेक बिहान र बेलुका एक गाग्री पानी लिन २ घण्टा पधेँरामा धाउँछिन् । त्यसपछि मात्र उनी घरको अरु कामका लागि समय खर्च गर्छिन् । घरको काम परिवारका अन्य सदस्यले गर्छन् । विरामी भएको दिनवाहेक बाँकी दिन पानी बोकेर ल्याउने काम चाहीँ डम्बरकुमारीकै जिम्मामा छ ।

उनले दिनमा दुई घण्टा खर्चेर ल्याएको दुई गाग्री पानी प्रयोग गर्ने ५ जना परिवारका सदस्य छन् । त्यहीँ पानीले शौचालय जानेदेखि खाना पकाउने, लुगाधुने नुहाउनेजस्ता काम उनको परिवारले गर्छ । पानीको दुःखकै कारण मेलापात जाँदा जंगलतिरै शौच गर्ने गरेको उनी बताउँछिन् । “पिउने पानीको त अभाव छ, शौचालयमा प्रसस्त पानी कहाँ पाउनु र ?” भन्छिन्, “वुढेसकालमासमेत थाप्लोमा नाम्लो र पिँढ्युमा पानीको डोकोले छोडेन ।”

डम्बरकुमारीकी छिमेकी सीता मगरलगायत करिव एकसय घर स्थानीयको मुख्य समस्या नै खानेपानी अभाव बनेको छ । “पिउने पानी त छैन, शौचालय जाने पानी कहाँ पाउनु ?” सीता भन्छिन्, “पानी अभावकै कारण स्कुल पढ्ने छोराछोरीको कपडासमेत भनेको बेलामा धुन सक्दिन ।” पानी अभावले गाउँका शौचालयसमेत प्रयोगविहीन बन्दै गएको उनी बताउँछिन् ।

पानी अभावमा काकाकुल झैं जीवन बिताउनुपरेको स्थानीय बताउँछन् । “खोल्सा र जंगलकोबीचमा खोस्रिएर बनाएको कुवाबाट पानीको दैनिक समस्या टार्दै आएका छौं,” स्थानीय चुडामणि लुईंटेलले भने, “सामान्यतया खुल्ला ठाउँका खोल्साखोल्सी, कुवाको पानी प्रदुषित हुने गर्दछ, तर थाहा हुँदाहुँदै पनि त्यही प्रदुषित पानी खानुपर्छ ।” स्थानीयले खानेपानीको स्रोतको रूपमा गैरीखोला, पाँचपाते पँधेरा, ठूलो पँधेरो, कुमाल पँधेरो र तल्लो गाउँको पँधेरो प्रयोग गर्दै आएकोमा ती पँधेरामा पनि पानी सुक्नाले गाउँमा पानीको हाहाकार भएको उनले बताए ।

खेती किसानी गरेर जिविकोपार्जन गर्दै आएका स्थानीयले पानीकै समस्याका कारण गोठका हल गोरु, गाईबस्तु, खसीबाख्रा, सुंगुरबंगुरलगायतका पशुचौपाया पनि कमै मात्र पाल्ने गरेको लुईंटेल बताउँछन् ।

“पहिले निर्माण गरिएको खानेपानी आयोजना मर्मतसम्भार नहुँदा यहाँका पाँचवटा विद्यालयमा अध्ययन गर्ने बालबालिकाले समेत पानीको अभाव झेलिरहेका छन्, ”उनी भन्छन्, “विद्यालयका चर्पीसमेत पानी नभएकै कारण प्रयोगमा आउन सकेका छैनन् ।” एक गाग्री पानीका लागि कुवा खोस्रनु पर्ने र कुवासमेत सुक्नाले स्थानीय बासिन्दा भौतारिनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

पुरानो योजना असफल भएपछि नयाँ योजनाका लागि सहयोगी निकायको खोजी भइरहेको गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताए । “नजिकमा स्रोत छैन्, मुहानको खोजी गर्न निकै टाढा पुग्नुपर्छ,” उनले भने, “गाउँपालिकाबाट बजेट सम्भव हुने अवस्था नदेखिएकाले सहयोगी निकायको खोजी गरिरहेका छौं ।” गाउँपालिकाले खानेपानीको योजनालाई प्राथामिकतामा राखेर अघि बढिरहेको भए पनि सिमित बजेटबाट ठूला योजना सञ्चालन गर्न कठिनाई भएको मगरले बताए ।