हरायो यी महिलाको कुकुर : खबर दिनेलाई ८ लाख दिने घोषणा

एजेन्सी । यी महिलाले आफ्नो कुकुर हराएकी छन् । रोचक पक्ष के छ भने कुकुर खोज्नका लागि पनि उनले प्लेनचार्टर गरेकी छन् । कुकुर फेला पारिदिने व्यक्तिलाई उनले ७ हजार अमेरिकी डलर अर्थात झण्डै ८ लाख नेपाली रुपैयाँ दिने घोषणा गरेकी छन् ।

अमेरिकाको सनफ्रान्ससिस्को निवासी एमिली टलेर्मोको निलो आँखा भएको अष्ट्रेलियन शेफर्ड कुकुर चोरी भएको छ । खोज्नका लागि निक्कै मेहनत गरे पनि कुकुर फेला पर्न सकेन।

एमिलीले कुकुर खोज्नका लागि प्लेन नै चार्टर गरिन् । कुकुरको नाम ज्याक्सन हो । प्लेनमा ब्यानर लगाएर उनले दुई राज्यमा खोजिन् । एमिलीले आफ्नो पाँच वर्षको ज्याक्सन खोज्नका लागि हरेक उपाय अवलम्वन गरेको बताएकी छन् । उनले हजारौं फोटो बनाएर आफ्ना साथी मार्फत शहरमा वितरण गरेकी छन् ।

कुकुर फेला पार्नेलाई उनले ७ हजार अमेरिकी डलर दिने घोषणा पनि गरेकी छन् । उनले विभिन्न प्रकारका प्लेटफर्ममार्फत खोजी गरिरहेकी छन्। उनले कुकुर खोज्नका लागि थप पैसा खर्च गर्ने बताएकी छन् । एमिलीले न्युयोर्कबाट ज्याक्सन लिएकी थिइन् । उनी त्यसपछि लस एन्जलस र सनफ्रान्सिस्को पुगेकी थिइन् ।