मोदीको निम्तो स्वीकार गर्ने प्रधानमन्त्री ओली ‘पहिलो’, भ्रमण भ्याइनभ्याइ

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण कार्यक्रमका लागि विदेशी कार्यकारी प्रमुखलाई गरिएका निम्तोमध्ये सबैभन्दा अगाडि भ्रमण ‘कन्फर्म’ गर्नेमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली रहेको भारतीय पत्रिका बिजनेश स्ट्यान्डर्डको अनलाइन संस्करणले जनाएको छ ।

सो अनलाइनले एकजना मन्त्रीले नाम उल्लेख नगर्ने शर्तमा जनाएको भन्दै प्रधानमन्त्री ओली बिहीबार नै त्यसतर्फ जाने जनाएको छ । उनी बिहीबार साँझ ७ बजे भारतको राष्ट्रपति कार्यालयमा आयोजना हुने शपथ ग्रहण कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि भोलिपल्ट दुई देशबीच दुईपक्षीय वार्ता हुने बताइएको छ ।

सो समारोहमा बिमस्टेकका सदस्य राष्ट्र तथा किर्गिस्तान र मोरिससका कार्यकारी प्रमुखको पनि सहभागिता हुने बताइएको छ । भारतका विदेश प्रवक्ता रभीस कुमारलाई उद्धृत गर्दै सो अनलाइनमा भारत सरकारको छिमेकी पहिलो नीतिअनुसार नै शपथग्रहण कार्यक्रममा विदेशबाट अतिथी निम्त्याइएको जनाएको छ ।
यसअघि निर्वाचनको मतगणना भइरहेकै बेलामा भाजपा निकै अगाडि देखिएपछि प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई ट्विटमार्फत बधाई दिएको कुराले पनि चर्चा पाएको थियो ।

भ्रमण आसपासमा नेपालमा भ्याइनभ्याइ

प्रधानमन्त्री ओली भारत जानु अघिल्लो दिन बुधबार नेपालमा गणतन्त्र दिवस हुनुका साथै सोही दिन वार्षिक बजेट पनि आउँदैछ । त्यसैगरी बिहीबार संविधानसभा पहिलो र दोस्रोमा काम गरेका जम्मा ११०९ जना सभासदहरुलाई संविधानसभा पदक वितरण गर्ने समेत कार्यक्रम रहेको छ ।

सो पदक पाउनेमा प्रधानमन्त्री ओलीको नाम पनि दोस्रो नम्बरमा रहेको छ । गणतन्त्र दिवसको दिन देश छोडेर हिँड्न अप्ठेरो हुने र भोलिपल्ट राष्ट्रपति कार्यालयमा हुने पदक वितरण समारोहमा पनि सहभागी हुनुपर्ने प्रधानमन्त्रीलाई बाध्यता देखिएको छ । सोही दिन साँझ उनी भारतका राष्ट्रपतिको कार्यालयमा हुने समारोहमा पनि सहभागी हुनुपर्नेछ ।