राजीनामा दे भनेको भए दिन्थेँ, अपमानपूर्वक हटाइयो !

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा गोकर्ण विष्टले मन्त्रीबाट हटाइएकोमा दुःखेसो पोखेका छन् । स्थायी कमिटी बैठकमा बुधबार बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यसम्पादन मूल्याङ्कनमै प्रश्न उठाएका थिए ।

पूर्व श्रम, रोजगार, तथा सामाजिक सुरक्षामन्त्री रहेका विष्टले मन्त्रीबाट हटाइँदा आफूले अपमानित महसुस गरेको र हटाइने विधि पनि स्पष्ट नभएको बताएका थिए । “राजीनामा मागेको भएँ खुरुक्क दिन्थेँ तर अपमानपूर्व हटाइयो,” उनले बैठकमा भनेको कुरा एक स्थायी कमिटी सदस्यले उद्धृत गरे ।

पूर्वमन्त्री विष्टले राजीनामा माग नगरिँदा हटाइँदा ‘अयोग्य’को सन्देश गएको समेत बताएका थिए । उनले कार्य सम्पादन मूल्याङ्कन पनि पारदर्शी नभएको भन्दै असन्तोष प्रकट गरेका थिए । स्थायी कमिटी बैठकमा अर्का सदस्य सत्यनारायण मण्डलले प्रदेश नम्बर दुई अराजकताको केन्द्र बनेको टिप्पणी गरेका छन् ।

कुराकानीमा उनले आफूले बैठकमा प्रदेश दुईमा सीमाहीन अराजकता बढेको र गुटबन्दीको विकृत रूप देखिन थालेको बारे नेतृत्वको ध्यानाकर्षण गराएको बताए । “प्रदेश २ मा धेरै अराजकता बढेको छ । कमिटीको निर्णय नमान्ने प्रचलन बढेको छ । अन्तरविरोध स्वस्थ छ भने ठीकै हो । नत्र स्वच्छन्दता हाबी हुन्छ,” उनले भने । उपनिर्वाचमा मधेसमा नेकपाको भोट बढेको कुरा पनि आफूले बैठकमा राखेको जानकारी दिए ।

“महोत्तरीको पिपरा गाउँपालिका हामीले जितेका छौं । अन्य स्थानमा पनि भोट राम्रो आएको छ,” उनले बैठकमा भनेको कुरा बताए। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावहरू माथि स्थायी कमिटीका सदस्य र आमन्त्रित सदस्यले विचार राख्नेक्रम जारी रह्यो ।

मातृका यादव, वर्षमान पुन, लीलामणि पोखरेल, प्रदीप ज्ञवाली, गिरिराजमणि पोखरेल, रघुजी पन्त, गोकर्ण विष्ट, हरिबोल गजुरेल, पृथ्वीसुब्बा गुरुङ, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल र डा. पुष्पराज कँडेलले राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि आ–आफ्ना धारणा राखेका थिए ।

स्थायी कमिटी सदस्यहरूले पार्टीलाई व्यवस्थित गर्ने, संगठनलाई अझ सुदृढीकरण गर्ने, विचार र आचरण सुधार गर्नुपर्ने, पार्टीको आगामी कार्ययोजनालाई मूर्त बनाई कार्यान्वयन गर्नुपर्ने, सरकारको कामलाई प्रभावकारी बनाउनुपर्ने जस्ता विषय उठाएको बैठकपछि जारी वक्तव्यमा उल्लेख छ । स्थायी कमिटीको अर्को बैठक बिहीबार पुस ३ गते बिहान ११ बजे धुम्बाराही, काठमाडौंमा बस्ने नेकपाले बताएको छ ।