बाबुराम भट्टराईज्यू, ‘रियालिटी शो’ले नेता जन्माइन्छ र ?

  • संजिव न्यौपाने 

काठमाडौं । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले सञ्चालन गर्ने गरी सक्षम र दूरदर्शी लक्ष्यवान नेताको खोजी गर्ने उद्देश्यसहित ‘दि लिडर राष्ट्रको सेवक’ रियालिटी शो हुने भएको छ । यो रियालिटी शोले युवा पुस्तामा राजनीतिप्रति रहेका विकर्षणलाई आकर्षणमा बदल्न प्रेरित गर्ने पनि भनिएको छ । समाजमा लुकेका प्रतिभाहरु खुलेर आफ्नो कुरा राख्ने वातावरण पाउने विश्वास आयोजक र निर्णायकहरुको छ । बिहीबार घोषणा गरिएको सो रियालिटी शोको निर्णायक मध्ये एक हुन्, पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई ।

उद्देश्य राष्ट्रको भलाइका लागि छ, यसमा टिप्पणी गर्नु आवश्यक छैन । तर, नेताको जन्म आन्दोलन वा संघर्षले हुन्छ कि एक रियालिटी शोले ? आममानिस यसबारे अस्पष्ट छन् । आममानिस तथा राजनीतिकइतरका व्यक्तिले रियालिटी शोले जन्माउने वा तोकिने राजनीति नेतृत्वले मुलुकको हितमा काम गर्न सक्ला वा वातावरण बनाउन सक्ला भन्ने शंका गरेका छन्।

जसले जीवनको पूरै समय मुलुकका लागि खर्चिएका र सरकारको समेत नेतृत्व लिएका डा. बाबुराम भट्टराईले रियालिटी शोबाट देशको लिडर चयन गर्ने बाटो रोज्नु अब आन्दोलन र संघर्ष हैन मञ्चबाट दिइने आफ्नो लक्ष्य र वाक् क्षमताले नै मुलुकलाई सहि दिशा दिँदै विकसित र समृद्धि बनाउन सक्छ भन्ने निष्कर्षमा पुगेका हुन् ?

पटक पटक भएका आन्दोलन र संघर्षबाट नेताहरु जन्मिएको नेपालको राजनीतिक इतिहास छ । कोही विद्यार्थी आन्दोलनबाट त कोही दलीय राजनीतिक आन्दोलनबाट नेताहरुलाई स्थापित गराएका छन् । कोही युद्ध र हिंसात्मक आन्दोलनबाट पनि जन्मिएका छन् । अब यी सबै प्रक्रियाले जन्मिएका नेताहरुले मुलुकको विकास र समृद्धि गर्न नसकेको निष्कर्षसहित डा. बाबुराम भट्टराई रियालिटी शोबाट देशको नेतृत्व खोजीमा लागेका हुन् ? बिहीबार सो रियालिटी शोको घोषणा भएसँगै आममानिसहरुले यस्ता प्रश्न उब्जाइरहेका छन् । यद्यपी सो रियालिटी शोकोबारेमा पनि मानिसहरु स्पष्ट भइसकेका छैनन् ।

अपार्टमेन्ट, गाडी र २० लाख नगद जित्ने विजेताले देशको बागडोर सम्हाल्न कुनै राजनीतिक दल दर्ता गरेर त्यसको नेतृत्व लिने हो ? वा भएका दलहरुमा आवद्ध भएर मुलुकको नेतृत्व लिने बाटोमा हिँड्ने हो ? या अन्य कुनै माध्यमबाट देश र जनताको नेतृत्व लिँदै मुलुकको विकास र समृद्धिमा टेवा पु¥याउने हो ? यसबारे आगामी दिनमा प्रष्ट हुँदै जाला । तर, अहिले पूर्वप्रधानमन्त्रीसमेत रहेका दश वर्ष चलेको युद्धको नेतृत्वदायी भूमिका रहेका डा. भट्टराई नेता जन्माउने भनिएको रियालिटी शोको निर्णायक बन्नुले उनले देश र जनताका लागि भन्दै हालसम्म अंगिकार र प्रयोग गरिएको राजनीतिक संघर्ष र बाटो गलत रहेको निष्कर्ष निकाल्दै अब नयाँ प्रयोगबाट नेता जन्माउन खोजिएको हो ? भन्ने प्रश्न आमरुपमा उठेको छ । तर, यसलाई डा. भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले खण्डन गरेका छन् ।

सामाजिक सञ्जालमा पाण्डेले लेखेका छन्, ‘कौवाले कान लग्यो भनेर कौवाको पछि लाग्ने होइन कि पहिले आफ्नो कान छाम्नु बुद्धिमानी हुन्छ । त्यस्तै यहाँ ’रियालिटी शो’ले नेता जन्माउने रे भन्दै हल्ला मच्चाइएको छ । कार्यक्रममा बोल्ने वक्ताले र स्वयं रविजीले प्रष्ट रुपमा भनिसक्नुभएको छ ( यो रियालिटी शोले युवा पुस्तामा राजनीतिप्रति जुन विकर्षण छ त्यसलाई आकर्षणमा बदल्नेछ । एक राजनीतिज्ञमा हुनुपर्ने गुण के के हुन्, त्यसमा जनस्तरबाटै व्यापक बहसको वातावरण बन्नेछ । असल राजनीति के हो भन्नेमा पनि व्यापक बहस हुनेछ ।समाजमा लुकेका प्रतिभाहरु खुलेर आफ्नो कुरा राख्ने वातावरण पाउनेछन । के यो राम्रो कुरा हैन र ? आजसम्म व्यवस्था बदल्ने लडाइँ भयो, अब जनताको अवस्था बदल्न हामीलाई कस्तो राजनीति र राजनीतिज्ञको आवश्यकता हो ? यसमा पनि व्यापक बहसको वातावरण हुनेछ । कसैले एउटा असल नियतले कुनै काम शुरु गर्दैछ भने उसको त्यो काम केही समय हेर्न सिकौं न । हरेक कुरामा हामी पूर्वाग्रही वा नकारात्मक आँखाले हेर्नै पर्ने, बोल्नै पर्ने हो र ?’

पाण्डेले भनेअनुसार हालसम्म भएका आन्दोलन र संघर्ष मुलुकको व्यवस्था बदल्न रह्यो । अब जनताको अवस्था बदल्न कस्तो राजनीति र राजनीतिज्ञको आवश्यकता छ भन्नेबारेमा व्यापक बहसका लागि यो रियालिटी शोले वातावरण बनाउँछ ? हालसम्मका राजनीतिक दल र तिनका नेता तथा हालसम्म सरकारको र पार्टीको नेतृत्व लिएका व्यक्तिहरुले जनताको अवस्था बदल्न कस्तो राजनीति र राजनीतिज्ञ आवश्यकता छ भन्नेबारेमा नबुझेका हुन् ? राजनीतिक अवस्था बदली सकेको अवस्था र अब जनताको अवस्था बदल्न डा. भट्टराई नेतृत्वको पार्टीसहित अन्य राजनीतिक दलको आवश्यकता र औचित्य सकिएको हो र ? अब नेपालको विकास र समृद्धि रियालिटी शोमा हुने बहस र त्यसबाट विजयी हुने व्यक्ति नै सक्षम हुने डा. बाबुराम भट्टराईको अन्तिम निष्कर्ष हो ? यो आममानिसले गरेको प्रश्न हो ?