शुक्रबारदेखि मुग्लिन–नारायणघाट सडकखण्ड दैनिक चार घण्टा बन्द

काठमाडौं । सडक मर्मत सम्भारका लागि मुग्लिन नारायणघाट सडकखण्ड अब दैनिक चार घण्टा बन्द हुने भएको छ । सडक पहिरो रोकथामको बाँकी काम गर्नका लागि शुक्रबारदेखि दुई सातासम्म दैनिक चार घण्टा बन्द गरेर काम हुन लागेको हो । दुई सातासम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गरेर काम हुने नारायणघाट मुग्लिन सडक आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार सडक पहिरो रोकथामको काम आठ ठाउँमा बाँकी छ ।आयोजनाले नारायणघाटतर्फबाट छिर्ने यात्रुवाहक सवारीसाधनलाई पन्ध्र किलो बजारमा र मालवाहक सवारीसाधनलाई दासढुंगामा रोकिने जनाएको छ ।

त्यसैगरी, मुग्लिनतर्फबाट छिर्ने यात्रुवाहक सवारीसाधनमा काठमाडौंबाट छिर्नेलाई मुग्लिन बजारमा रोकिने भने पोखराबाट आउनेलाई बेनीटारमा रोकिने भएको छ ।

मालवाहक सवारीसाधनको हकमा भने काठमाडौंबाट मुग्लिन छिर्नेलाई लेवाटारमा र पोखराबाट मुग्लिनतर्फ आउनेलाई आँबुखैरेनीमा रोकिने जनाइएको छ । उक्त सडकखण्डमा विश्व बैंकको ऋण सहयोगमा डबल लेनमा स्तरोन्नतिको काम भइसकेको छ ।