नेपाल चिनाउँदै चिनियाँ सुन्दर सु-छिङ

गुलरिया। नेपाल पर्यटन वर्ष–२०२० को सद्भावना दूतका रूपमा चिनियाँ अभिनेत्री सु—छिङले बर्दियाको पर्यटकीय गन्तव्यको अवलोकन गरेकी छन्। नेपाली पर्यटनको प्रचार गर्न बर्दिया आएकी अभिनेत्रीले जिल्लाका विभिन्न स्थानको भ्रमण गरेकी हुन्।

हलिउडका फिल्ममा समेत खेलेकी अभिनेत्रीलाई बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश पूर्वगेटमै खादा र माला पहि याई भव्य स्वागतसहित निकुञ्ज प्रवेश गराइएको थियो। उनले बर्दियाको बाँसगढीस्थित ओमकेदारेश्वर धाम, बारबर्दिया नगरपालिकास्थित सत्खलुवा ताललगायत बर्दिया राष्ट्रिय निकुञ्जभित्रका विभिन्न स्थानको अवलोकन गरेकी छन्। नेपाल भ्रमण वर्षका क्रममा पर्यटन प्रवद्र्धनका लागि सद्भावना दूत रहेकी हलिउड अभिनेत्री बर्दिया निकुञ्ज आएपछि बर्दियाको पर्यटन उद्योगतर्फ आशा पलाएको छ।

अभिनेत्री छिङलाई बर्दियाको पर्यटकीय गन्तव्यमा भ्रमण गराउन पाउँदा बर्दियावासी धेरै हर्षित भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए। उनले भने, ‘अभिनेत्रीको नेपाल भ्रमणले पर्यटन वर्षका लागि धेरै राम्रो सन्देश प्रवाह गर्छ। बर्दियामा प्रशस्त पर्यटकीय गन्तव्य छन्।’ बरालले थपे, ‘निकुञ्ज भित्रै बाघ, गैंडा, हात्ती, पंक्षी प्रजातिलगायतका धेरै अवलोकन गर्नुपर्ने वन्यजन्तु छन्। यहाँको थारू मौलिक संस्कृति, परम्परा पनि अनुपम छ।’

अभिनेत्रीबाट स्थानीय थारू संस्कृति, भेषभूषा, नृत्य अवलोकन भएको छ। उनले थारू परिकारको समेत स्वाद लिइन्। यसले चिनियाँ पर्यटकमा राम्रो सन्देश जानेमा दुई मत छैन। बर्दिया निकुञ्ज भ्रमणमा आएकी अभिनेत्रीलाई बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेसहित राष्ट्रिय निकुञ्ज, मध्यवर्तीक्षेत्र व्यवस्थापन समिति, चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानका युवा पर्यटन व्यवसायी, गाइड, ठाकुरबाबा नगरपालिकालगायत स्थानीयले निकुञ्ज प्रवेश पूर्वगेटमा माला र खादाले भव्य स्वागत गरेका थिए।

अभिनेत्रीलाई स्वागत गर्दै प्रजिअ लामिछानेले चीन र नेपालबीचको सम्बन्ध प्रगाढ बनाउन भ्रमण महत्त्वपूर्ण हुने बताए। उनले भने, ‘नजिकिँदै गरेको भ्रमण वर्षलाई अभिनेत्रीको नेपाल आगमनले थप बल पुग्छ। यतिखेर बर्दियावासीमा ऊर्जा थपिएको छ।’

अभिनेत्री छिङले नेपाल–चीनबीचको सम्बन्ध बलियो बनाउँदै पर्यटन प्रवद्र्धनमा समेत आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। समाजसेवी हरिश गौतमले अभिनेत्रीलाई पर्यटकीय गन्तव्यको अवलोकनमा सहयोग तथा सहकार्य गरेका छन्। अभिनेत्री छिङको बर्दियालगत्तै लुम्बिनी भ्रमणको कार्यक्रम तय गरिएको छ। यादव आचार्य, अन्नपूर्ण पोस्ट