भावुक हुँदै आयशाले भनिन्, स्वर्ण पदक जितेपछि परिवारिक दुःख बिर्से अनि भगवानलाई सम्झेँ (भिडियो)

काठमाडौं । नेपालमा आइतबारदेखि दक्षिण एसियाली खेलकुद (साग)को १३औं संस्करणका खेलहरु भइरहेका छन् । जसमा नेपाल पनि स्वर्ण, रजत र कास्य पदक ल्याएर पदक तालिकामा दोस्रो स्थानमा छ । यसरी नेपाललाई स्वर्ण पदक दिलाउने खेलाडी मध्येकी एक हुन्, आयशा शाक्य ।जारी सागको प्रतियोगितामा तेक्वान्दोको पोम्सेतर्फ महिला एकलको २९ वर्षमाथि उमेर समूहमा उनले नेपाललाई स्वर्ण पदक दिलाइन् । एकलमात्रै होइन समू्हमा पनि उनले स्वर्ण पदक हात पारिन् । योसँगै उनको सागमा स्वर्ण संख्या ३ पुगेको छ । यसअघि उनले ११ औँ सागमा स्वर्ण जितेकी थिइन् । सागमा उनको पदक संख्या ५ पुगेको छ । जसमा ३ स्वर्ण र २ रजत पदक छ ।

सन् २००६ ओलम्पिकमा कास्य पदक तथा सागमा चारपटक स्वर्ण पदक जितेर कीर्तिमान बनाएका दीपक विष्टकी श्रीमति पनि हुन्, आयशा शाक्य । उनीहरुका दुई सन्तान छन् । पारिवारिक भूमिका निर्वाह गर्दै आयशाले मुलुकलाई स्वर्ण पदक दिलाइन् । तर, मुलुकको लागि स्वर्ण पदक दिलाउन उनले सन्तानप्रतिको जिम्मेवारी घर परिवारलाई सुम्पिएर सधैं खेलप्रति समर्पित भइन् । अहिले स्वर्ण पदक मुलुकलाई दिलाउँदा सबैभन्दा पहिले आफ्नो संघर्ष, संघर्षमा साथ दिँदा परिवार र आफूले पाएको दुःख बिर्सिन् र भगवानलाई सम्झिएको भावुक हुँदै आयशाले क्यानाडानेपाललाई आफ्नो खुसी मिश्रित वेदना सुनाइन् ।

खेलाडी लगातार अभ्यासमा रहनु पर्छ । आयशा पनि अभ्यस्त रहिन् । तर, दुई सन्तानको जिम्मेवारी, परिवारप्रतिको उत्तरदायित्व निर्वाह पनि गर्नुपर्ने थियो, आयशालाई । यि सबै सम्झिँदै आयशा भन्छिन्, ‘परिवारको साथ बिना यो कहाँ सम्भव थियो र, परिवारले मेरो चाहनालाई स्वीकार गर्दा आज राष्ट्रको लागि स्वर्ण पदक दिन सफल भएँ ।’

सायद उनलाई एक अर्थमा सजिलो पनि थियो खेल क्षेत्रमा रहिरहन, किनकि उनका श्रीमान दीपक पनि राष्ट्रिय खेलाडी हुन् । श्रीमानको साथमा परिवारका अन्य सदस्यले समर्थन नजनाउने कुरै भएन । अझ उनले आफ्नो सफलतामा घरका सदस्यलाई मात्रै सम्झिनन्, आफ्ना माइतीतर्फका बुवाआमासहित सबैको भूमिका र सहयोगप्रति आभारी भइन् ।

क्यानाडानेपालसँग कुरा गर्दा निकै भावुक बनेकी आयशाले कुनै बेला खेल क्षेत्रबाट सन्यास लिन चाहेकी थिइन् । तर, आफ्नो भूमिका राज्यका लागि आवश्यक ठानिन् र अन्ततः १३औं सागमा दुईवटा स्वर्ण पदक दिलाइन् । आयशाको खेल जीवन, उनको संघर्ष, परिवारको साथ सहयोग र राष्ट्रले उनमाथि गरेको मुल्यांकनलगायतकाबारेमा क्यानाडानेपालका सन्तोष निरौलाले स्वर्ण पदकधारी आयशा शाक्यसँग गरेको अन्तरंग कुराकानी :