भारतीय पत्रकारले लेख्छन् : गोर्खाली नभए कसरी चल्छ भारतीय सेना ?

  • विवेक शुक्ला

फील्ड मार्शल मानेकशा (भारतका आठौँ सेनाध्यक्ष—सं.) ले एकपटक गोर्खालीहरूको युद्ध क्षमताको बारेमा भनेका थिए, ‘यदि कसैले मर्न डराउँदिन भन्यो भने या त उ झुटो बोलिरहेको छ, होइन भने त्यो गोर्खाली हुनुपर्छ ।’ गोर्खाली सैनिकहरूको बहादुरीलाई यसभन्दा उच्च कुनै सम्मान मिल्न सक्दैन । अतुलनीय वीरताकै कारण भारतीय सेनामा उनीहरूलाई धेरै संख्यामा भर्ती लिने गरिएको छ । भारतीय सेनालाई शक्तिशाली बनाउनमा उनीहरूको ठूलो योगदान रहेको छ ।

तर निकट भविष्यमै भारतीय सेना गोर्खाली जवानबाट बञ्चित हुनसक्छ । यस्तो आशंका उठ्नुपर्ने कारण यो हो कि नेपाल सरकार आफ्ना गोर्खा जवानहरूलाई भारतीय सेनामा सामेल हुनबाट रोक्ने एक प्रस्ताबउपर विचार गरिरहेको छ ।

नेपालको एक संसदीय समितिले आफ्नो रिपोर्टमा भारतीय र ब्रिटिश सेनासहित कुनै पनि बाह्य सेनामा नेपाली गोर्खालीहरूलाई भर्तीमा रोक लगाउन जिकिर गरेको छ । (नेपालको कालापानी भूभागलाई भारतले आफ्नो राजनीतिक नक्सामा गाभेर १६ कार्तिक ०७६ मा प्रकाशित गरेपछि भारतीय सेनामा नेपालीहरूको भर्ती विषय बहसको रुपमा अहिले फेरि उठेर आएको छ–सं.।) यदि नेपाल सरकारले यस रिपोर्टलाई कार्यान्वयन गर्ने भयो भने भारतीय सेनाका लागि यो एउटा ठूलो क्षति हुनेछ । हाल भारतीय सेनामा गोरखा राइफल्स्मा करीब २५ हजार नेपाली गोर्खा सैनिक छन् । जम्मा हिसाब गर्दा गोरखा राइफल्स्मा नेपाली गोर्खालीहरूको संख्या ७० प्रतिशत छ । बाँकी ३० प्रतिशत संख्या देहरादून, दार्जिलिङ्ग र धर्मशालाका स्थानीय भारतीय गोर्खालीहरू भर्ती गरिएका छन् । यसका अतिरिक्त रिटायर्ड गोर्खाली जवान र असम राइफल्स्मा गोर्खालीको संख्या करिब एकलाख छ ।

मेजर जनरल शंकर प्रसादको भनाइ छ, ‘भारतीय सेना र नेपाली गोरखाहरूका बीचको नाता अटुट छ । नेपाली गोर्खा सैनिकहरूले भारतलाई महान सेवा दिएका छन् । यिनीहरूको भर्तीका लागि प्रत्येक वर्ष भारतीय सेनाको तर्फबाट भर्ती क्याम्प आयोजित हुनेगरेको छ । सेनाका एक पेन्सन अधिकारी स्थायी रूपमा नेपालमा बसेर रिटायर्ड भएका नेपाली (गोर्खाली) सैनिक जवानहरूको पेन्सनसम्बन्धी विषयलाई हेर्ने र समाधान गर्छन् । ताजा स्थिति के छ भने हरेक वर्ष भारतीय सेना करिब १२ सयदेखि १३ सयसम्म नेपाली गोर्खाहरूलाई आफ्नो पंक्तिमा सामेल गर्छ । भारतीय सेनाको सेवाबाट अवकाश पाएका सैनिकहरू र तिनका एकल महिलाहरूलाई हरेक वर्ष लगभग भा.रू. १२ अर्ब ५० करोड पेन्सनका रुपमा पठाउने गरिन्छ ।

आफ्ना पूर्वसैनिकहरूका लागि भारत सरकार नेपालका प्रमुख सहरहरूमा निरन्तर रुपमा स्वास्थ्य शिविरको पनि आयोजना गरिरहेको छ ।’

भारतीय सेनामा नेपाली जवानहरूको भर्ती सन् १९४७ मा भारत, नेपाल र ब्रिटेनका बीच भएको त्रिपक्षीय सन्धिको प्रावधान अन्तर्गत हुँदैआएको छ । ‘गोरखा’ भन्ने शब्दको उत्पत्ति हिन्दु संन्त गुरु गोरखनाथबाट भएको हो । गोरखा नेपालको पूर्वी र पश्चिमी भागहरूका भूमिपुत्र हुन् । गोरखा जवानहरूलाई अँग्रेजहरूले सन् १८५७ भन्दा पहिले नै आफ्नो सेनामा लिन थालेका थिए । १८५७ मा भएको भारतको पहिलो स्वतन्त्रता संग्राममा उनीहरूले ब्रिटिश सेनालाई साथ दिएका थिए । यदि तपाईँ चाहनुहुन्छ भने भनेहुन्छ कि गोरखाली सेनाको एउटा श्याम पक्ष पनि छ । त्यस बखत गोरखाहरू इस्ट इन्डिया कम्पनीका लागि अनुबन्धमा काम गर्दथे । महाराजा रणजीत सिंहले पनि उनीहरूलाई आफ्नो सेनामा राखेका थिए ।

त्यसो त नेपालबाट आएका सबै नेपालीभाषी जवानहरूलाई गोरखा भन्ने गरिएको छ । तर यथार्थ अलिक बेग्लै छ । ‘गोरखा’ उनीहरू नै हुन्, जो लिम्बू, थापा, मगर जस्ता जातिहरूसँग सम्बन्ध रहेको हुन्छ । यी सबै गोरखाली जातिहरूको आ–आफ्नै बोलीहरू छन् । ती भाषाको स्वरमा मात्र होइन, ब्यन्जनहरूमा पनि धेरै असमानता छ ।
अँग्रेजहरूका लागि गोर्खाली जवानहरूले दुवै विश्वयुद्धमा अतुलनीय साहस तथा युद्ध कौशलका परिचय दिए । पहिलो विश्वयुद्धमा दुईलाख गोरखा सैनिक जवानहरू सरिक भएका थिए । यिनीहरूमध्ये २० हजारले रणभूमिमा आफ्नो प्राण गुमाए । दोस्रो विश्वयुद्धमा त लगभग अढाईलाख गोर्खाली जवान सिरिया, उत्तरअफ्रिका, इटली र ग्रीसका साथै बर्माको घना जंगलमा पनि लड्न गएका थिए । त्यो लडाईँमा ३२ हजारभन्दा बढी गोर्खा जवानहरूले वीरगति प्राप्त गरेका थिए । भारतका लागि पनि गोर्खाली जवानहरूले पाकिस्तान र चीनका बिरूद्ध भएका लडाईँहरूमा शत्रुका अगाडि आफ्नो बहादुरीले तहल्का मच्चाएका थिए ।

गोरखा रेजिमेन्टलाई यी युद्धमा अनेक महावीर चक्र र अन्य केहीलाई परम वीर चक्र पनि प्राप्त भयो । (एक पाकिस्तानी लेफ्टिनेन्ट जनरल काजी मुहम्मद ईक्रम अहमदको भनाईअनुसार, गोर्खा रिक्रुटलाई छोडेर भारतीय सेनालाई हेर्ने हो भने पाकिस्तानका लागि त्यो प्रायः आधा शक्तिमात्र लाग्दछ–सं.।)
जानकारहरूको मान्यता छ, भारतीय सेनामा नेपाली गोरखालीहरूको भर्तीमा रोक लगाउनु नेपाल सरकारका लागि पनि सजिलो काम होइन । त्यहाँका गोरखा जवान भारतीय सेनामा भर्ती हुनबाट यसकारण पनि पछि हटदैनन्, कि भारतीय सेनामा उनीहरूलाई बराबरीको हक मिल्छ ।
यति भएर पनि अब यो विषयलाई भारत सरकारले कुटनीतिक स्तरमा नेपालका साथ अविलम्ब उठाउनु पर्छ, ताकि सारा मामिला बिग्रिनुभन्दा पहिले नै सौहार्दपूर्ण वातावरणमा सुल्झाउन सकियोस् । मेजर जनरल शंकर प्रसादको भनाइ छ, ‘नेपाली गोरखालीको जीवनको मूलमन्त्र हो, कायर बनेर बाँच्नुभन्दा मर्नु वेश हो । यस्ता शूरवीरहरूबाट बञ्चित भारतीय सेना कदापि चल्न सक्दैन ।’
अनुवादक चन्द्रमणि गौतम
—नवभारत टाइम्स
(३५ वर्षदेखि पत्रकारिता गर्दै ‘हिन्दूस्तान टाइम्स’, ‘पाकिस्तान अब्जर्भर’देखि ‘दैनिक भाष्कर’सम्म काम गरिसकेका शुक्ला हाल अनलाईन पत्रिका चलाउने बरिष्ठ भारतीय पत्रकार हुन् ।)