सीमाबारे छलफल गर्न चिनियाँ विदेश मन्त्री भारत जाँदै

काठमाडौं । सीमा विवादका विषयमा छलफल गर्न चिनियाँ विदेशमन्त्री भारत जाने भएका छन् । चीनका विदेश मन्त्री वाङ यीले यही डिसेम्बर महिनामा भारतको भ्रमण गर्ने तयारी भएको छ ।

दुई पक्षका बीचमा भ्रमणबारे आन्तरिक रुपमा तयारीहरु भइरहेकाले उनको भ्रमण यही महिनाको अन्त्यतिर हुने सम्भावना रहेको अधिकारीहरुले जनाएका छन् । भारतीय सञ्‍चारमाध्यमका अनुसार दुई देशको सिमानाका विषयमा छलफल गर्न उनी भारत जान लागेका हुन् ।

चिनियाँ विदेश मन्त्री वाङले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलसँग पनि भ्रमणका क्रममा भेटवार्ता गर्ने जनाइएको छ । यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङबीच गत अक्टोबरमा भारतमा अनौपचारिक भेट भएपछिको यो चिनियाँ उच्चस्तरीय पहिलो भारत भ्रमण हुनेछ ।

उनी सेप्टेम्बरमै भारत भ्रमण गर्न चाहेका भए पनि उक्त भ्रमण स्थगित गरिएको थियो । सीमा समाधान गर्न गठित विशेष प्रतिनिधिहररुले २० पटक वार्ता गरिसके पनि समस्या समाधानको उत्तम विकल्प आउन नसक्दा विवाद कायमै छ ।

सन् २०१७ मा डोक्लामको विषयलाई लिएर भारत र चीनबीच विवाद बढेको थियो । यसले नयाँ दिल्ली र बेइजिङबीचको सम्बन्धमा चिसोपना बढाएको थियो ।

बुधबार नै लोकसभामा बोल्दै भारतका संघीय रक्षामन्त्री राजनाथ सिंहले भारत-चीन सीमामा कुनै वास्तविक नियन्त्रण रेखा नभएका कारण सीमा अतिक्रमण बढेको बताएका थिए । उनले सीमामा भारतीय सेना तयारी अवस्थामा रहेकोले विपक्षी दल तथा भारतीय जनतालाई सीमाका विषयमा कुनै चिन्ता नलिन समेत आग्रह गरेका थिए ।