‘नालापानीको इतिहास बिर्सन नदिने फिल्म’

काठमाडौं: ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’को विशेष प्रदर्शनी गरिएको छ। नेपाली सेनाको मुख्यालयमा भएको प्रदर्शनीमा नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले चलचित्र हेरेका छन्।

प्रधानसेनापति थापाले यो चलचित्र हेरेपछि आफू २०३८ सालतिर पुगेको महसुस भएको बताए। आँखा झिमिक्क नगरी हेर्न सकिने चलचित्र भएको भन्दै उनले ‘नालापानी’ ले नेपालको रक्षाको लागि पुर्खाले गरेको योगदान बिर्सन नदिने बताए। ‘हामीले आफ्नो इतिहास बिर्सियौं भने हाम्रा राष्ट्रलाई पनि बिर्सन्छौँ। यो चलचित्रले हामीलाई इतिहास बिर्सन दिँदैन। राष्ट्रको रक्षाको लागि सेनाले मात्र नभएर सेना र जनता दुवैले सहकार्य गर्‍यो भने असम्भव केही पनि छैन।

युद्ध जित्न हतियारले सहयोग गर्छ तर युद्ध जित्न बिनारणनीति हतियारले मात्र हुँदैन भन्ने सन्देश ‘नालापानी’ मा देखिन्छ’, थापाले भने, ‘नालापानीले हामी कहिल्यै कमजोर थिएनौं भन्ने देखाउँछ। ‘नालापानी’ले नेपाली सेनामा वीररस थप्छ। आगामी दिनमा पनि यो चलचित्रको लागि नेपाली सेनाबाट अझै सहयोग हुनेछ।’

विशेष शोमा राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारी तथा राष्ट्रपति सचिवालयका सदस्य एवं तीन सयभन्दा बढी नेपाली सेनाका अधिकारी एकसाथ उपस्थित थिए।

भीएफएक्सको अधिक प्रयोग भएको चलचित्र ‘नालापानी’ को टिजर केही समय पहिले रिलिज भएको थियो। सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर यो फिल्म निर्माण भएको हो।

रिमेश अधिकारी निर्देशित चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय बिस्फोट, पूजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मालगायतको अभिनय रहेको छ।