प्रधानमन्त्रीलाई मृगौला दिने दाता भेटिए, उपचार नेपालमै कि बाहिर टुङ्गो लाग्दै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृगौला दिने दाता भेटिएपनि प्रत्यारोपणको मिति भने पर सर्ने देखिएको छ । प्रधानमन्त्री ओलीलाई मृगौला दिनका लागि उनकै भान्जाभान्जी तयार भएका छन् । प्रधानमन्त्री ओलीको १२ वर्षअघि प्रत्यारोपण गरिएको मृगौलाको कार्यक्षमतामा ह्रास आएपछि पुनः प्रत्यारोपण गर्ने योजना अहिले छलफलमै सीमित रहेको छ । उनका निजी चिकित्सक डा. दिव्या सिंह शाहका अनुसार आकस्मिक रुपमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुपरेकाले प्रत्यारोपणको समय धकेलिएको हो । निजी चिकित्सक डा. शाहले सबैकुरा सोचे जस्तो भयो र एपेन्डिक्सको घाउ पनि छिटो निको हुँदै गएको अवस्थामा शल्यक्रियाकै कारण प्रत्यारोपण पछाडि सर्दैन । तैपनि अलि पछाडि जान सक्छ ।

यस विषयमा चिकित्सकहरुको टोलीले छलफल गरिरहेको छ । छलफलमा नेपालमै गर्ने कि बाहिर लैजाने भन्ने विषयमा विदेश लैजाने वा विदेशी विज्ञ चिकित्सकहरुलाई नेपालमै बोलाउने विषयमा छलफल भइरहेकाने बताइन्छ ।

मृगौला बिग्रेको अवस्थामा सातामा दुईतीन पटक डायलाइसिस गर्नुपर्ने भएपनि प्रधानमन्त्री कपी शर्मा ओलीको एक महिना अवधिमा पाँच पटक मात्र डायलाइसिस गरिएको छ ।

डा. शाहले नेपालमा पनि मृगौला प्रत्यारोपण भइरहेको बताउँदै त्रिवि शिक्षण अस्पतालमै ६ सयभन्दा बढीको प्रत्यारोपण भइसकेको जनाइन् । डा. शाह भन्छिन्–‘प्रत्यारोपणका लागि हामी सक्षम छौं । कहाँ गर्ने भन्ने टुंगो लागेको छैन ।’

उता महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सपलान्ट सेन्टरमा उपचार गरिरहेका प्रधानमन्त्री ओलीलाई उपचाररत डाक्टरहरुले आउने हप्ता डिस्चार्ज गर्ने तयारी थालेका छन् । प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणका लागि केही हप्ता आराम गर्नुपर्ने भएका कारण चिकित्सकले यस्तो तयारी गरेको बताइएको छ । एपेन्डिसाइटिसका उपचार गरिरहेका प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको लागि उनका संयुक्त राज्य अमेरिकामा बस्दै आएका ओलीका भाञ्जा र नेपालमै रहेकी भाञ्जीले मृगौला दिने भएपछि यसको थालनी गरिएको हो ।

तर अहिले एपेन्डिसाइटिसको अपरेसनपछि अस्पतालमा आराम गरिरहेका ओली निवास फर्किएपछि करीब तीन हप्ता आराम गर्ने र चिकित्सकको सल्लाहमा प्रत्यारोपण गरिने भएको बताइन्छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले डायलाइसिसमा दुनियाँभरको कम्प्लिकेसन हुने भन्दै कहिले फोक्सोमा पानी जम्ने, मसल कन्ट्राक्सन हुने, भिजन जाने भएकाले प्रधानमन्त्रीको उपचारको आफ्नै देशमा गर्नुपर्छ भन्ने नभएको बताएका छन् ।

अहिलेसम्म प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणका लागि सिंगापुर वा अमेरिका लैजाने तयारी थाललिएको छ । प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. शाह यससम्बन्धी परामर्शका लागि गएर फर्किसकेकी छन् । उनको थप उपचारका लागि अमेरिका वा सिंगापुरमध्ये कुन देशमा लैजाने भन्ने कुरा पछि नै तय हुने बताइन्छ । प्रधानमन्त्री ओलीको निजी चिकित्सक डा. शाहले आवश्यक रिपोर्ट र कागजातसहित अमेरिका पुगेर त्यहाँका चिकित्सकहरुसँग परामर्श गरी फर्किसकेकी छन् ।

केही समयअघि स्वास्थ्यमा समस्या देखिएपछि ग्राण्डी अस्पताल पुगेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे विभिन्न टिकाटिप्पणी भएको र अस्पतालले सन्तोषजनक उपचार नगरेपछि ओली निकट नेताहरुले विदेशमै गएर एकपटक ‘होल बडी चेकअप’ गराउन सुझाउँदै आएका थिए ।

त्यसबेला ग्राण्डी अस्पतालले मृगौला फेल नै भएको जसरी सार्वजनिक गरेपछि नेताहरु रुष्ट बनेका थिए । उनको उपचारको लागि चीन र भारतले पनि चासो देखाएका छन् । यसै विषयलाई लिएर गत अगष्ट ३१ तारेखमा नेपाल आएका भारतीय विदेशमन्त्री एस. जयशंकरले ‘हजुरको उपचार पहिला भारतमा भएको, स्वास्थ्यसम्बन्धी विवरण पनि उतै भएको कारण सबै व्यवस्था मिलाउँछौ’ भनी आफ्ना प्रधानमन्त्रीको सन्देश सुनाएका थिए । यस्तै गरी अघिल्लो महिना नेपाल आएका राष्ट्रपति सि जिनफिङले पनि यसबारे चासो राख्दै चीनमै उपचारका निम्ति स्वागत गर्न तयार रहेको बताएको स्रोतको दाबी छ ।