मुस्लिमको उपहार महादेवको मूर्ति

रौतहट — चन्द्रपुर ५ स्थित अस्पताललाई यहाँका एक मुस्लिम समाजसेवीले महादेवको मूर्ति उपहार दिएका छन् । मुस्लिम भएर उनले हिन्दु धर्मले पूजा गर्न महादेवको मूर्ति दिएका हुन् । अस्पताल परिसरमा रहेको मूर्तिको सोमबार उनैले अनावरण गरेका छन् ।

गुजरा नगरपालिकास्थित जुघौलीका समाजसेवी नसिम अख्तरले चन्द्रपुर अस्पताल प्रालीलाई महादेवको मूर्ति उपहार दिएका हुन् । अस्पताल परिसरमा राखिएको मूर्तिको अख्तरले अनावरण गरेका थिए । अख्तर मूर्ति व्यवसायी हुन् । हिन्दुहरूको महान पर्व शिवरात्रिको अवसर पारेर उनले महादेव उपहार दिए । सोही अवसर पारेर मूर्तिको अनावरण गरिएको हो ।

आफू मुस्लिम धर्म मान्ने भए पनि सबै धर्म बराबर रहेको अख्तरले बताए । ‘सबै धर्मको सम्मान गर्नुपर्छ । अहिले बिभेद गर्नु हुन्न,’ उनले भने, ‘सबै धर्म जात जाति मिल्न सके समृद्ध हुन्छ ।’ उनले महादेवको मूर्ति छोए । ढोगे पनि । मुस्लिमले महादेवको मूर्ति उपहार दिएको भनेर हेर्न आउनेको भीड थियो । अनावरण कार्यक्रममा सांसद देवप्रसाद तिमल्सिना, पूर्वसांसद गोविन्द चौधरी पनि उपस्थित थिए ।

महादेव मूर्तिको डेढ लाख परेको छ । मुस्लिम भए पनि हिन्दु धर्मावलम्बीहरूको सम्मान गर्दै आएका छन् । उनका दाजु हसिन अख्तर पनि समाजसेवी हुन् । अस्पतालका चिकित्सक सभाष चौधरीले अख्तरले हिन्दु धर्मको सम्मान गरेको सुनाए । ‘अख्तरले नै महादेबको मूर्ति उपहार दिन्छु भनेर प्रस्ताव राखे,’ उनले भने, ‘सुरुमा बिश्वास नै लागेन । मुस्लिम भएर सबै धर्म प्रतिसम्मान गरेका छन् ।’

मुस्लिम सांसदको घोषणा

यहाँको प्रदेश सांसद शेख अबुल कलाम आजादले आफ्नो संसदीय निर्वाचन क्षेत्र नम्बर ४ का सम्पूर्ण विद्यालयमा आगामी ५ वर्षमा सरस्वती मन्दिर बनाउने घोषणा गरेका छन् । केही दिनअघि गढीमाई नगरपालीकास्थित माबिमा उनले हिन्दु बस्त्र लगाएर सरस्वती मन्दिर निर्माणको शिल्यान्यास गरेका थिए । सोही बेला उनले मन्दिर बनाउने घोषणा गरेका हुन् । मुस्लिम भएर पनि हिन्दु बस्त्र लगाएर मन्त्र पढेको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । सबैले उनको कामको प्रशन्सा गरे । उनी संघीय समाजबादी फोरमका सांसद हुन् ।

सांसद आजादले आफनो निर्वाचन क्षेत्रको दुईवटा माबिमा सरस्वती मन्दिर निर्माणको थालनी गरेका छन् । गढीमाई नगरपालिकाको समनपुरस्थित शंकर गुदर मावि र गरुडा नगरपालिकामा रहेको श्रीमाविमा सरस्वती मन्दिरको निर्माण कार्य अगाडि बढाएका हुन् । समनपुरमा मन्दिरको शिलान्यास भइसकेको छ । मावि गरुडामा मन्दिर निर्माणका लागि ५ लाख दिने घोषणा गरेका छन् । आफनो क्षेत्रमा रहेका माविलाई प्राथमिकतामा राखेर सरस्वती मन्दिर निर्माण थालिएको प्रदेश सांसद आजादले बताए ।

‘हरेक वर्ष मन्दिर निर्माण गर्ने योजना रहेको छ,’ उनले भने, ‘सबै धर्मलाई सम्मान गर्नुपर्छ । अनि मात्र समाजले नयाँ दिशा पाउँछ ।’ उनि भारत विहारको शिवहर जिल्लामा माध्यमिक तहमा अध्ययन गर्दा मुस्लिम समुदायको भएर पनि सरस्वती पूजा समितिको अध्यक्ष बनेको सुनाए । उनको क्षेत्रमा प्राथमिक, निमावि, मावि गरी करिब चार दर्जन विद्यालय छन् ।