पादरी बन्ने सपना देखेका काश्मिर हमलाकर्तालाई स्कूलबाट फर्कने बेला सेनाले कुटेका थिए !

एजेन्सी। भारत प्रशासित काश्मिरको पुलवामामा सैनिकमाथि आत्मघाती हमला गर्ने आदिल अहमद दरलाई केही वर्षअघि सरकारी सुरक्षा फौजले कुटेको अभिभावकले दाबी गरेका छन् । आदिल जैस–ए–मोहम्मदका सदस्य थिए । उक्त आक्रमणमा ४५ सैनिकको मृत्यु भएको छ ।

आदिलका बुवा गुलाम हसन दरले रोयटर्ससँगको कुराकानीमा उनका छोरालाई विगतमा सेनाले कुटेको बताएका हुन् । गुलामका अनुसार सेनाले आदिललगायत उनका साथीहरुलाई कुटेपछि उनी कट्टर भएका हुन् । ‘उनीहरुलाई स्कूलबाट फर्कने बेला सेनाले रोकेर कुटेको र दुर्व्यवहार गरेका थिए,’ बुवा गुलामले भने ।

आदिलकी आमाले उक्त घटनापछि आफ्नो छोरामा सेनाविरुद्ध रिस उब्जिएको बताइन् । ‘उसलाई केही वर्षअघि भारतीय सेनाले स्कूलबाट फर्कने क्रममा कुटेका थिए । यो घटनापछि उनी भारतीय सेनासँग निकै रिसाएका थिए । ’

स्क्रोल डट इनसँगको कुराकानीमा गुलाम हसनले आफ्नो छोराले आमालाई घरको काममा निकै सघाउने गरेको बताए । आफ्ना दुई सन्तानमध्ये हसन कान्छो छोरो भएको उनले बताए । उनले भने, ‘मेरो कान्छो छोरोको पादरी बन्ने सपना थियो । कुरानका आठ अध्यायबारे सम्पूर्ण जानकारी हाँसिल गर्न चाहन्थ्यो ।’ ‘पैसा कमाउनका लागि भिन्न काम गर्न रुचाउँथ्यो । सन् २०१७ मा उसले काठको बाकस बनाएर ५० देखि ६० हजार कमाएको थियो,’ उनले थपे।

छोरासँगको अन्तिम भेटबारे बुवा गुलामले भने, ‘मैले आदिललाई सन् २०१८ को मार्च १९ तारिखमा अन्तिम पटक भेटेको थिएँ । ऊ त्यतिबेला निर्माण कार्यमा संलग्न थियो । त्यो दिन ऊ खाना खाएर आफ्नो साइकलमा निस्किएको थियो ।’ उनले भने, ‘त्यसको धेरै दिनपछि बन्दुक बोकेको उनको फोटो सोसल मिडियामा भाइरल भयो । हामीले कहिले पनि सोचेका थिएनौं, उसले यो बाटो अपनाउनेछ ।’

हमलापछि आदिल अहमद दरको १० मिनेट लामो भिडियो इन्टरनेटमा भाइरल भयो, जुन घटना हुनु अगावै रेकर्ड गराइएको थियो । आदिलले ‘यो भिडियो तपाईंहरुमाझ पुग्दासम्म म स्वर्गमा पुगिसकेको हुनेछु’ भन्दै भिडियोको सुरुवात गर्छन् ।

उक्त भिडियोमा उनले आफू करिब एक वर्षअघि जैश–ए–मोहम्मदमा संलग्न भएको जानकारी दिए । आफूलाई उक्त हमलाको जिम्मेवारी दिइएको पनि उनले बताए । उनले काश्मिरका जनतालाई जैशमा संलग्न हुन आह्वान गर्दै अन्यायविरुद्ध लड्न धेरैभन्दा धेरै जनताको आवश्यकता भएको बताएका छन् ।

आदिल पाकिस्तान भ्रमणमा रहेका बेला उनलाई जैश–ए–मोहम्मदले आफ्नो संगठनमा संलग्न हुन मनाएको इन्डियाटुडेले बताएको छ । विगत एक वर्षमा आदिलले थुप्रै पटक पाकिस्तान भ्रमण गरेको पनि यसले बताएको छ । इन्डियाटुडेका अनुसार आदिललाई जैश–ए–मोहम्मदको हेडक्वार्टसमा लगिएपछि पाकिस्तानी संचालकसँग सम्पर्कमा भएको बताइन्छ ।