गरिबी र पहिचानको चपेटामा परेका विनोद जिन्दगीलाई जित्न संघर्ष गर्दै (भिडियो)

  • हेर्नेकथा

काठमाडौं। गरिबीको चपेटामा पढाई, परिवार र पहिचान । जिन्दगीलाई जित्न संघर्षरत एउटा मान्छेको कथा ।

स्टोर रुम भित्रको ओछ्यानछेउमा विहानै मोबाइलको अलार्म बज्छ । उनी आँखा मिच्दै उठ्छन् र हतार हतार गृहकार्य सक्छन् । राति सँधै अबेर भइसकेको हुन्छ । थाकेको ज्यानले ओछ्यान रोज्छ ।

मूल ढोकाका साँचो लिएका मानिस मस्त निद्रामा हुन्छन् । उनलाई उठाउन मन लाग्दैन । झ्यालबाट निस्किन्छन् र क्याम्पस जान्छन् । १० बजे क्याम्पस छुट्टी हुन्छ । सिधै होटल जान्छन् । भान्छा छेउमा झोला थन्क्याउँछन् र पाहुनाहरुलाई खाना खुवाउँछन् ।

पढाईमा तीक्ष्ण छन् । पैसामा कमजोर । क्याम्पसको खर्च जुटाउन होटलमा काम थालेकाे ३ महिना भयाे। खानापछि उनको अर्को दैनिक सुरु हुन्छ । होटलका कोठाहरु बढारकुडार गर्ने, ओछ्यान मिलाउने र ट्वाइलेट बाथरुम सफा गर्ने ।

काम बाट एकछिन फुर्सद निकालेर उनले आफ्नी आमासँग हामीलाई भेटाउने भए । बजार छेउको दलितबस्तिको एक कोठे घरमा आमा एक्लै बस्छिन् ।

बिनोदको संघर्षमय वाल्यकाल यही सेरोफेरोमा हुर्कियो । बिनोद सानै हुँदा बाबु मलेसिया हिँडे । आमालाई घरधन्दा सघाउँदै हुर्केका विनोदले आफ्नो पहिचानसँग जोडिएका केही नमिठा अनुभव पनि साटे ।

बेलुका होटलमा विनोदको उही भ्याइ नभ्याइको दैनिकी ।

चितवनबाट डाक्टरी पढ्ने विद्यार्थीहरु दुई महिनाको लागि उनी काम गर्ने होटलको पाहुना बनेका छन् । उनको मिलनसार स्वभावले धेरै आफ्ना भइसकेका छन् । आज बेली उनीहरुलाई बेली डान्स देखाउँदै छन् ।

हेर्ने कथा तपाईंको कथा, तपाईंको भाका हो

गाउँघर र मानिसका कथा सँगै सम्बन्धित ठाउँका लोक भाका र स्थानीय गीतहरुलाई पनि सँगसँगै प्रस्तुत गर्नु हेर्ने कथाको विशेषता हो । हामीले हेर्ने कथाको पहिलो अंक एउटा स्कूलको कथादेखि आठौं अंक जुबेदा खातुनको कथासम्म आइपुग्दा हरेक कथामा यस्ता भाका र स्थानीय गीतहरु प्रयोग गर्दै आइरहेका छौं ।

विभिन्न भाषा र चालचनल भएका नेपाली समुदायहरुमा दुःखसुःखका गाथा लोक गीत मार्फत व्यक्त गर्ने हाम्रो पुरानो, सुन्दर र धनी चलन हो । दुःखमा होस् वा सुःखमा नेपाली समाजले गीत गाउँछ । कहिले माया प्रितीको गीत गाउँछ कहिले विरहको गीत गाउँछ । समाजले आफ्नै कथा गीतबाट भन्न सिकेको धेरै पहिलेबाट होला सायद । बिहेमा गीत, रोपाइँमा गीत, गोठाला जाँदा गीत, घाँस काट्दा गीत । कति लयपूर्ण छ हाम्रो समाज ।

त्यसैले हेर्ने कथाका अंकहरु तयार पार्दा हामी समाजका त्यही लयलाई सकेसम्म छोड्न चाहँदैनौं । तर विडम्बना हाम्रा गाउँघरका पुराना लोक भाकाहरु बिस्तारै हराउँदैछन् ।

तपाईंको कथा, तपाईंको भाका- आज हामी तपाईंहरुलाई एउटा अनुरोध गर्न चाहन्छौं । तपाईंले जानेका भाकाहरु हामीसँग बाँड्नुस् र हामीमार्फत अरुलाई पनि सुनाउनोस् । तपाईंले गाउँघरमा गोठाला जाँदा गाएको अथवा आफ्ना अग्रजहरुले गाएको सुनेको भाका, चुट्का, श्लोक जस्ता परम्परागत लोक गीतहरु रेकर्ड गरी हामीलाई पठाउनुहोस् । हामी आवश्यकता अनुसार ती भाकाहरुलाई हेर्ने कथाका अंकहरुमा अथवा छुट्ट्टै प्रयोग गर्नेछौं ।

तपाईं स्वदेशमा, परदेशमा जहाँ भए पनि हामीलाई आफ्ना भाका पठाउन सक्नुहुन्छ । फुर्सदको बेला होहल्ला नभएको ठाउँमा बस्नुस् । मोबाइल निकाल्नोस् । आफूले जानेका पुराना भाका रेकर्ड गर्नुस् र हेर्ने कथालाई पठाउनोस् ।

भाका पठाउन केही सुझाव- अडियो अथवा भिडियो दुबै पठाउन सकिन्छ । भिडियो भए झनै राम्रो । आफूले जानेका भाका गर्वसाथ रेकर्ड गर्नुहोस् । अरुले के सोच्लान् नसोच्नुहोस्भा का पठाउँदा उक्त भाकाको बारेमा तपाईंलाई थप केही थाहा छ भने त्यो पनि लेखेर अथवा रेकर्ड गरेर पठाउनुहोला । जस्तै कुन बेलामा गाइने भाका हो आदि

तपाईंको भाका नेपालीबाहेकको भाषामा छ भने त्यसको अर्थ पनि भनिदिनुभयो भने सुनमा सुगन्ध हुनेछ रेकर्ड गरिएका भाका पठाउने सबैभन्दा सजिलो माध्यम हेर्ने कथाको फेसबुक पेजमा इनबक्स गरेर ।