म्यानमारसँग नेपाल ३-१ ले पराजित, उपाधि जित्ने सपना फेरि अधुरै

काठमाडौ।नेपालको महिला राष्ट्रिय फुटबल टोलीको अन्तराष्ट्रिय उपाधि जित्ने सपना फेरि अधुरै रह्‍यो। भारतमा जारी हिरो गोल्डकपको फाइनलमा म्यानमारलाई ३-१ को नतिजा सुम्पिन बाध्य भएपछि नेपालको उपाधि जित्ने सपना अपुरै रहेको हो। अन्तरष्ट्रिय प्रतियोगितामा फाइनल पुगेर उपाधि जित्न नसकेको यो चौथो पटक हो।

भर्खरै सम्पन्न फाइनलमा नेपालले खेलको ३४ औं मिनेटमा पहिलो गोल खाएको थियो। १-० ले पछाडि परेको अवस्थामा नेपालले पहिलो हाफको अतिरिक्त समयमा गोल फर्काउँदै उपाधि जितको सपनालाई कायमै राखेको थियो। नेपालका लागि सो गोल मञ्जली कुमारी योञ्जनले गरेकी थिइन्। तर खेलमा नेपालको सो सपनालाई खेलको ५४ औं मिनेटमा म्यानमारले निराश पार्‍यो। यसरी २-१ ले पछि परेको नेपाललाई म्यानमारले खेलको ६३ औं मिनेटमा फेरि अर्को झट्का दियो र नतिजालाई ३-१ को अवस्थामा पुर्‍यायो।

समूह उप-विजेताको रुपमा फाइनल पुगेको नेपाल यस गोल्डकपको पहिलो खेलमा पनि म्यानमारसँगै पराजित भएको थियो। सो खेलमा नेपालले ३-० फराकिलो हार खाएको थियो। म्यानमार समूह चरणका तीन खेलमा जितेर समूह विजेताको रुपमा फाइनल पुगेको थियो। पहिलो खेलमा नेपाललाई ३-० ले पराजित गरेको म्यानमारले अन्तिम दुई खेलमा इरान र भारतलाई २-० को समान गोल अन्तरले हराएको थियो ।

यसअघि ओलम्पिक छनोटमा पनि नेपालले म्यानमारसँग खेलेको थियो जसको नतिजा बराबरीमा टुङ्गिएको थियो। यस प्रतियोगितामा नेपाल सबैभन्दा कम वरीयता भएको टोली थियो भने म्यानमार शीर्ष टोली । यस प्रतियोगितामा नेपालले दोस्रो खेलमा भारतलाई २-१ ले र तेस्रो खेलमा इरानलाई ३-० ले हराएको थियो।