म्यानमार विरूद्ध नेपाल कठिन अवस्थामा, यस्तो छ अहिलेको परिणाम

काठमाडौ। भारतमा जारी हिरो गोल्डकपको फाइनलमा नेपालले पहिलो हाफमा म्यानमारसँग १-१ गोलको बराबरी खेलेको नेपाल दोश्रो हाफ चलिरहँदा दुई गोलले पछि परेको छ। नेपालले दोश्रो गोल ५४ औं मिनेटमा खाएको हो भने तेश्रो गोल खेलको ६३ औं मिनेटमा खाएको हो। तेश्रो गोल खाएसँगै नेपाल उपाधि जितको लागि कठिन अवस्थामा पुगेको छ।

भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा एक गोलले पछि परेको अवस्थामा नेपालले बराबरी गोल फर्काएको हो। खेलको ३४ औं मिनेटमा म्यान्मारले गोल गर्दै सुरूवाती अग्रता लियो। पहिलो हाफको इन्जुरी समयमा नेपालका लागि मञ्जली योञ्नले गोल गर्दै खेललाई बराबरीमा ल्याइन्। समूह उपविजेताको रुपमा फाइनल पुगेको नेपाल पहिलो खेलमा म्यानमारसँग ३-० को फराकिलो अन्तरले पराजित भएको थियो।

म्यानमार समूह चरणका तीन खेलमा जितेर समूह विजेताको रुपमा फाइनल पुगेको हो। पहिलो खेलमा नेपाललाई ३-० ले पराजित गरेको म्यानमारले अन्तिम दुई खेलमा इरान र भारतलाई २-० को समान गोल अन्तरले हराएको थियो । यसअघि ओलम्पिक छनोटमा पनि नेपालले म्यानमारसँग खेलेको थियो जसको नतिजा बराबरीमा टुङ्गिएको थियो। यस प्रतियोगितामा नेपाल सबैभन्दा कम वरीयता भएको टोली हो भने म्यानमार शीर्ष टोली हो । साफ च्याम्पियनसिपको तयारीको रुपमा यस प्रतियोगितालाई लिइएको छ।

यस प्रतियोगितामा नेपालले दोस्रो खेलमा भारतलाई २-१ ले र तेस्रो खेलमा इरानलाई ३-० ले हराएको थियो।