देशद्रोहीको मुद्दामा सीके राउतका चार कार्यकर्ता कारागार चलान

  • मनोहर पोखरेल

राजविराज : अदालतको आदेश बमोजिम धरौटी रकम नबुझाउने स्वतन्त्र मधेश गठबन्धनका चार जना बिहीबार कारागार चलान भएका छन् । जनही ५० हजार धरौटी नबुझाएका कारण राजविराज नगरापालिका–११ फर्सेठका २३ वर्षीय श्यामकुमार यादव, सोही ठाउँका १९ वर्षीय सरोजकुमार यादव, तिलाठी कोइलाडी गाउँपालिका–२ का २८ वर्षीय सुशिल मण्डल र सप्तकोसी नगरपालिका–१० का १९ वर्षीय अविनाश पण्डित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेका हुन् ।

जिल्ला अदालत सप्तरीका न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले चारै जनासँग जनही ५० हजार धरौटी रकम बुझाउन आदेश गरेको थियो । डा. सी.के. राउत नेतृत्वको गठबन्धनका चारै जनाले धरौटी रकम नबुझाएपछि कारागारमा पठाइएको अदालतले जनाएको छ ।

गत माघ ५ गते बालबालिकालाई पोस्टर टाँस्नेलगायतको कार्यमा सहभागी गराएको आरोपमा सप्तरी प्रहरीले उनीहरुलाई पक्रउ गरी ‘बालबालिका ऐन २०७५’ अन्तर्गत ‘बालबालिका दुरुपयोग कसुर’ मा उजुरी दर्ता गरी कारवाही थालेको थियो । घटनास्थलबाट नियन्त्रणमा लिइएका बालबालिकालाई भने सोही दिन प्रहरीले रिहा गरेको थियो ।

बालबालिकालाई प्रलोभनमा पारी पोस्टर टाँस्ने लगायतको कार्यमा सहभागी गराएको आरोपमा प्रहरीले उनीहरुलाई राजविराज नगरपालिका–११ झल्ही पुल नजिकबाट पक्राउ गरेको थियो । प्रहरीले बालबालिकाहरुलाई पोस्टर टाँस्न लगाउँदै गरेको अवस्थामा पोस्टर र ‘फ्रि मधेस’ लेखिएको व्यानरसमेत बरामद गरेको थियो। (अन्नपूर्ण पोस्ट)