रक्षा बन्धन के हो थाहा छैन, भ्यालेन्टाइनको चुरीफुरी ?

सरगम भट्टराई
२०१३ को फेब्रुवरी १३ को दिन थियो, लण्डनमा त्यो बेला निकै जाडो थियो । मेरो डे अफको दिनमा कोही आफन्त भेट्न भनेर म सेन्ट्रल लाईन ट्रेन चढेर प्लम स्टीड जान लागेको थिएँ ।

लण्डन ब्रिज स्टेशनमा ओर्लेर दुर्गा दाई संग केही बेर गफिदै थेम्स नदी छेउमा स्टारबक्सको कफी पिउँदै गर्दा मेरा एक परम मित्र(नाम गोप्य राख्न चाहन्छु) को फ़ोन आयो । मैले आफू प्लम स्टीड जाने क्रममा लण्डन ब्रिजमा कफी पिउँदै गरेको बताएँ ।

लेखक: सरगम भट्टराई

ए सरगम, तिमी लण्डनब्रिजमा हो ? के छ ख़बर ? पक्कै पनि भोलि भ्यालेन्टाईन डे को लागि गिफ़्ट किन्न आएको होला है ? ल ल राम्रो राम्रो गिफ़्ट किन्दिनू है ! म पनि यतै लिभरपुल स्ट्रीटमा छुँ केही बेरमै आउँछु भेटौँन है ?

एकै शासमा मेरा मित्रले आफ्नो कुरा राखेर म ट्युब चढ्दैछु अब फ़ोनले टिप्दैन भन्दै मेरो कुरा नसुनेरै फ़ोन राखिदिए ।

मेरा पुराना मित्र, त्यो पनि नेपाल देखि नै गहिरो चिनजान भएकोले गर्दा होला मैले उनलाई नाई नास्ती गर्ने कुरै थिएन , हामी कुराको चुरो बढ्दै गर्दा तिमी तँ सबै भन्थ्यौँ । नभन्दै मित्रजी पैतिस मिनेटमा त्यहीँ आईपुगे ।

उनको हातमा आकर्षक गुलाबको फूलको झुप्पा थियो, अनि शपिङ् पनि थुप्रै गरेका सायद त्यो बेला भर्खर बजारमा आएको एप्पलको आईफ़ोन -५ पनि थियो होला, टी मोबाईलको पेपर ब्याग पनि देखेँ मैले । जाड़ो छल्नै पर्थ्यो, हामीले अर्को कफी थप्यौँ ।

मित्रले आफूले श्रीमतीलाई किनिदिएको गिफ्टको बेलिबिस्तार लगाए, मैले सुनेँ तर मनमा गुनिन । मनमनै उनको दुई बर्ष पहिले श्रीमती संग भएको डिभोर्स संझेँ, गल्ती कसको भन्ने मैले खुट्याउने मौकै पाईन तर मेरो लागि त्यो एउटा नमिठो खबर थियो । म उनको दुई बर्ष पहिले भएको डिभोर्स सम्झेर भावुक भईसकेको थिएँ तर उनलाई केही कुराले छोएको देखिएको थिएन ।

डेढ बर्ष पहिले बिहे गरेकी श्रीमतीलाई खुशी पार्न उनले त्यति भब्य किनमेल गरिरहँदा म चाहिँ रित्तै थिएँ । खासमा मलाई यो भ्यालेन्टाईन डेको भूत सवार भएकै थिएन ।

हाम्रो भेट भयो कि कुराको सिलसिला जमिहाल्थ्यो । मैले मित्रको भ्यालेन्टाईन डे को भूत उतार्ने सुर गरेँ र प्रश्नको बर्षा गरेँ:

मैले झोक्किदै सोधेँ : तिम्रा बुवा आमाको बर्थडे कहिले हो ? वहाँहरुको एनिभर्सरी थाहा छ ? रक्षा बन्धन र भाइटीकाको शुरुवात कसरी भयों थाहा छ ? कृष्णाष्टमी किन मनाईन्छ थाहा छ ? हाम्रै नेपालमा मनाईने ल्होसार र माघी अनि छठ पर्वको महत्व थाहा छ ?

मित्र अक्मकिए । बु….. वा आ…. माको बर्थडे ? एनिभर्सरी , छठ, ल्होसार ! किन यो सबै सोधिरा यार ! तिमीले कफी पिएको हो कि ह्विस्की ? मै माथि कडा प्रहार आयो ।

म अबिछिन्न बोलिरहेँ : हेर, तिमीले सबै भन्दा पहिले आफ्नो बाबु आमा र आफ्नी श्रीमतीको जन्ममिति बारे थाहा पाऊ । आफ्ना चाडपर्व र मान्यताहरु बारे जानकारी लेऊ किन ब्यर्थमा अरुको संस्कृतिको बारेमा डुबिरहन्छौ ? तिमी हामीले रक्षा बन्धनमा जनै फ़ेर्न भुल्ने, दशैँमा टिका लगाउन फुर्सद नहुने, तीजमा नेपालमा भएकी दिदी बैनीलाई फ़ोन गरेर सम्झन नसक्ने मान्छेले अरुको पर्व भ्यालेन्टाईन डे नै किन मनाउन यति मरिहत्ते ? तिमीले सम्बन्ध बिच्छेद गर्नु भन्दा पहिले त्यो सम्बन्धमा कतै आफ्नै भूमिका पो कमजोर थियो कि भन्ने कहिल्यै सोच्यौ ? यति धेरै किस डे, हग डे, प्रोमिस डे, प्रेमिल डे मनाउने यो मुलुकमा किन हप्तै पिच्छे ब्वायफ्रेण्ड, गर्लफ्रेण्ड फेरिन्छ ? किन दैनिक हजारौँ डिभोर्स हुन्छन् ? यस्तो महान पर्व मनाउने मान्छेहरुको सम्बन्ध त दीगो हुनुपर्ने हैन र ?

मैले लगातार प्रश्नको ओईरो लगाउँदा मित्र फेब्रुवरीको त्यो जाडोमा असिन पसिन भईसकेका थिए ।

मैले सेन्ट भ्यालेन्टाईनको बारेमा सोधेँ, उनी कुन देशका थिए, उनको क़सूर के थियो ? भ्यालेन्टाईन डे पश्चिमी देशमा किन मनाईन्छ थाहा छ भन्दा एउटै मात्र जवाफ दिए : त्यो सबै त थाहा छैन यार तर प्रेम दिवसको रुपमा सबैले मनाएपछि हामीले पनि किन नमनाउने भनेर पो त ! मैले यस बिषयमा खासै बुझेको छैन यार ! उनी अप्ठेरो मानिरहेका थिए ।

मैले छोटकरीमा बताएँ: भ्यालेन्टाइन डे प्रेम र वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टाईन भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे ।

उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र बिवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो ।

प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरी भ्यालेन्टाईनको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । उनकै संझनामा फेब्रुवरी १४ भ्यालेन्टाईन डे मनाईने कुरा संक्षेपमा सुनाएपछि उनले लामों शास फेरे ।

मैले उनलाई अघि भन्दै गएँ : मित्र बरु भ्यालेन्टाईन डे आफैमा ख़राब होईन तर यो हाम्रो आफ्नो पर्व होईन, हाम्रा पुर्खा मरेको दिन सम्झने दिन पनि यो होईन, जहाँ भब्य रुपले भ्यालेन्टाईन डे मनाईन्छ, हेर त तिमी आफैले भाउजु संग डिभोर्स गर्यौ ? किन तिम्रो सम्बन्ध यो भ्यालेन्टाईन डे मनाउँदा मनाउँदै पनि दीगो हुन सकेन ?

मैले थप्दै गएँ : आज हामी अरुको चाड पर्व मनाउने ध्याउन्नमा आफ्नै चाड पर्व भूल्दै गएका छौँ, भोलि छोरा छोरीले के सिक्लान् ? सम्बन्ध त बिश्वास र त्यागले पो चल्छ, कसैको संस्कार अंगाल्दैमा टिक्दैन । हाम्रा बुवा आमाका सम्बन्धहरु भ्यालेन्टाईन डे मनाएर यति बलिया भएका होईनन्, क्रिसमस, न्यू ईयर मनाएर यति दीगो भएका होईनन् बरु हाम्रै संस्कारतिर फ़र्क़ भाउजुका हरेक दिनहरु सुखी र खुशी बनाऊ, एक अर्कामा बिश्वासको वातावरण बनाऊ, मनको साथी बन । हेर त अहिले यी सबै पर्वहरु मनाउँदा मनाउँदै पनि किन सम्बन्ध बिच्छेदका घटना बढिरहेका छन ?

मैले यस्ता आयातित पर्व र अहिले चल्तीमा आएका बर्थडे, एनिभर्सरी र पास्नीहरुमा गर्ने फ़जूल खर्च गर्नु भन्दा भोकले चित्कार गर्ने सड़क बाल बालिका, अनाथालय, दुर्गम तिरका ग़रीब बाल बच्चालाई एक छाक खाना खुवाउने, लुगा किनिदिने पैसा पठाउने सल्लाह दिँदा उनी मलाई सोध्दै थिए: तिमी त दार्शनिक पो भएछौकसरी यो सब बारे सोच्यौ यार ? मेरो त आँखै खोलिदियौ !

सधै आफ्ना कुरा माथि पार्ने मेरो मित्रलाई त्यो बेलाको मेरो कुरो मनमै गडेछ क्यारे लामो सुस्केरा हाल्दै ल यार अब म यस बारे सोच्छु भन्दै आफ्नो बाटो लागे । म पनि नाक फूलाउँदै मेरो दुर्गा दाई संगै प्लम स्टिड तर्फ हान्निएँ ।

मैले साँझ फेरि फोन गरेर जिस्किदै भनेँ : आज किनेका सबै गिफ़्टहरु भाउजुलाई नदिएर कतै रिटर्न त गरेनौँ ?

अर्को बिहान मलाई धन्यवाद दिदै उनले भने तिम्रो कुराले मन छोयो त्यसैले आज भ्यालेन्टाईन डे को उपलक्ष्यमा काठमांडौको अनाथालयमा एक छाक खाना खान र लुगाहरु किन्न पचास हज़ार पठाईदिएँ । अब सधै यसै गर्नेछु ।

उनको कुरा सुनेर म अलौकिक आनन्दित भईरहेको थिएँ ।