इरानविरुद्ध नेपालको शानदार जित, नेपाल हिरो कपको फाइनल नजिक

काठमाडौँ –  बलियो टोली इरानलाई ३–० गोल अन्तरले पराजित गर्दै नेपाली महिला फुटबल टोली भारतमा जारी हिरोकपको फाइनल नजिक पुगेको छ । भारतको भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा भएको जित्नै पर्ने खेलमा फिफा वरियताको १०६ औं स्थानको नेपालले ६० औं वरियताको बलियो टोली इरानलाई ३-० ले हराएको हो ।

नेपालको प्रभावशाली जितमा पहिलो गोल खेलको ४१ औं मिनेटमा अनिता बस्नेतले गरिन् । नेपालको जितमा थप दुई गोल स्ट्राइकर साबित्रा भण्डारीले गरिन् । उनले खेलको दोस्रो हाफमा दुवै गोल गरिन् ।खेलको ५९ औँ र ८९ औं मिनेटमा साबित्राले गोल गर्न सफल भइन् । हिरो कपमा साबित्राले चार गोल गरिसकेकी छन् । सावित्राले बलियो प्रतिद्वन्द्वी भारतविरुद्ध पनि दुई गोल गरेकी थिइन् ।

आफ्नो पहिलो खेलमा नेपाल म्यानमारसँग पराजित भएको थियो । नेपालले त्यसयताका दुवै खेलमा जित निकालेको छ। लगातार दुई खेलमा नतिजा आफ्नो पक्षमा पार्न सफल भएकाले नेपालले फाइनलको सम्भावना बलियो बनाएको हो । नेपालले अब फाइनलका लागि स्थान पक्का गर्न आजै (बुधबार) हुने म्यानमार र आयोजक भारतबीचको खेलको नतिजा कुर्नुपर्ने भएको छ ।