४ कक्षा पढ्ने बालिकाले बाटो बनाइदिन भन्दै प्रधानमन्त्रीलाई लेखेको पत्र रातारात भाइरल

काठमाडौं। अहिले सामाजिक संजालमा एक पत्र भाइरल भइरहेको छ । ४ कक्षामा पढ्ने एक बालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै आफ्नै हातले लेखेको यो पत्र सामाजिक संजालमा अत्याधिक शेयर भइरहेको छ । प्राप्ति लामिछाने नामकी ती बालिकाले आफू स्कुल जाने बाटो हालैको वर्षाले बिग्रिएको भन्दै मर्मत गराइदिन प्रधानमन्त्रीलाई पत्रमार्फत अनुरोध गरेकी थिइन् । सामाजिक संजाल प्रयोगकर्ताले अहिले यो पत्र निकै शेयर गरिरहेका छन् ।

राजधानीको इमाडोलमा रहेको सेन्ट मेरिज उच्च माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत बालिका प्राप्ति लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेकी हुन् । सामाजिक संजालमा प्रयोगकर्ताहरुले यो पत्र शेयर गर्दै यो पत्रलाई शेयर गरी भाइरल बनाऔं भने सन्देश समेत लेखेका छन् । प्राप्तिले पत्रमा जनाएअनुसार महालक्ष्मी नगरपालिका, ४ ओचु हाइट, इमाडोलमा माघ २४ देखि २६ गतेसम्म परेको अविरल वर्षाका कारण सडक हिलाम्य भएकोले यातायात तथा यात्रु आवागमनमा समस्या भएको उल्लेख छ ।

प्राप्तिले प्रधानमन्त्री मार्फत नेपाल सरकारलाई निवेदन लेखेकी हुन् । उनले आफूहरुलाई नियमित विद्यालय जान बाटोको कारण समस्या भएको भन्दै समस्या समाधाननका लागि पहल गरिदिन आग्रह गरेकी छिन् । दुई दिन परेको वर्षाका कारण सो क्षेत्रको सडक हिलाम्मे बनेपछि आवातजावतमा समस्या परेको छ । विशेषगरी विद्यालय जाने बालबालिका उक्त समस्याबाट बढी पीडित बनेका छन् ।