कविता पढिरहेका कवि प्रहरीद्वारा अपहरण, कारण यस्तो थियो

प्रियदर्शन

प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभामा राष्ट्रपतिको भाषणमा भइरहेको चर्चाको जवाफ दिँदै थिए । भाषणमा मोदीले कवि सर्वेश्वर दयाल सक्सेनाको कविता दोहोर्‍याउँदै थिए । तर कविको नाम नै उच्चारण गरेनन् : ‘म सूर्यलाई डुब्न दिन्नँ’ । लगभग त्यही समय झुंसीमा युपी प्रहरीले कवि अंशु मालवीयलाई कार्यक्रमबाटै अहपरणको शैलीमा समातेर लैजाँदै थिए ।

गीत र कविताको दुनियाँमा चर्चित नाम हो अंशु मालवीय । अंशु मालवीय र उनको परिवारको गीत परम्परालाई इलाहावादको विपुल साहित्यिक परम्पराको सुगन्धको रुपमा लिइन्छ । उमाकान्त मालवीय, यश मालवीय र अंशु मालवीयलाई यो परम्पराको खम्बा नै मानिन्छ । उनका भाइ वसु मालवीयको असामयिक निधन हुँदा इलाहावाद शोकमा डुबेको थियो । उनीहरुको गीतले शोकको समयमा इलाहावाद नै गुञ्जायमान भएको थियो ।

अंशु मालवीयलाई प्रहरीले पक्राउ गर्नुमा उनको दोष के थियो ? उनी कुम्भ मेलामा सफाइ कर्मचारीले गरेको आन्दोलनमा संलग्न थिए । मेलालाई चम्काउने सफाइ कर्मचारीको तलब भने दैनिक २९५ मात्र थियोे । उनीहरुले अन्य कर्मचारीको न्यूनतम पारिश्रमिक सरह महिनाको १८ हजार तलब बनाउने माग गर्दै आन्दोलन थालेका थिए । तलब वृद्धिको लागि दवाब दिएपछि मेला समितिले उनीहरुको ज्याला दैनिक ३१० बनायो ।

कर्मचारीको मागको समर्थन गर्दै एकदिन अंशु र उनका साथीहरुले मेलाका कर्मचारीहरुसँग भेटेका थिए । मेलका कर्मचारीले उनीहरुसँग अभद्र व्यवहार गरे । अंशुका दाइ यश मलवीयका अनुसार मेलाका अधिकारीले त्यहीबेला उनीहरुलाई समाएर कुटपिट गर्ने धम्की नै दिएका थिए ।

आइतबार साझ झुंसीमा एक कार्यक्रममा अंशु मालवीय कविता वाचन गर्दै थिए । अचानक दुईवटा गाडी आएर कार्यक्रम स्थल अगाडि रोकियो । गाडीबाट केही मानिस ओर्लिएर कार्यक्रमको बीचबाटै अंशुलाई अपहरणको शैलीमा समातेर लगे । गाडीको पिछा गर्दै अंशुका एक साथी गएका थिए । समात्ने मानिसले आफूहरु अपराध शाखाका मानिस भएको बताए ।

केही घण्टासम्म उनको अवस्थाको बारेमा कसैलाई पनि थाहा भएन । अनजान स्थानमा राखिएको कुरा पछि अंशुले बताए । अंशुका साथी, सहयोगी र इलाहावादका संस्कृतिकर्मी उनको खोजी गरिरहेका थिए । सोसल मिडियामा अंशु हराएको कुरा फैलियो । युपी प्रहरीका अफिसरहरुले अंशुको खबर सोध्न फोन गर्दा चिनेका मानिसको कल रिसिभ गर्न बन्द गरिदिएका थिए । घन्टौँसम्म उनको बारेमा कसैलाई केही जानकारी हुन सकेन ।

अचानक राती २ बजे अंशुलाई एउटा कालो गाडीले प्रहरीचौकी अगाडि ल्याएर छाडिदियो । यदि उनको खोजी कार्यमा उनका शुभचिन्तकले प्रयास नगरेका भए अंशु मालवीयलाई कुनै अपराधको आरोप लगाएर जेल चलान गरिन्थ्यो होला । उनलाई देश द्रोहीको आरोप लगाइन्थ्यो होला । राष्ट्रिय सुरक्षाको लागि खतरा घोषित गरिन्थ्यो । सायद यस्तै समयको लागि कवि अवतार सिंह पासले आफ्नो कवितामा लेखेका थिए, ‘यदि देशको सुरक्षाको अर्थ यही हो भने, हामीलाई देशको सुरक्षाबाटै खतरा छ ।’

ठूलाठूला ज्यादती दिनहु भइरहने देशको लागि यो घटना ठूलो नलाग्नु स्वभाविक नै मान्न सकिन्छ । एउटा मानिसलाई केही घन्टाको लागि जबरजस्ती लैजानु । उसलाई शारीरिक र मानसिक यातना दिएर छाडिनु । निरपराध मानिसलाई अन्जान व्यक्तिहरुले अपहरण गरेर लग्नु र विभिन्न ठाउँबाट दवाब आएपछि आधा रातमा छाडिनु सानो घटना भने पक्कै होइन । कुनै अप्रिय घटना हुँदाहुँदै रोकिएको घटना हो यो । यी सबै घटनालाई संवेदनशील भएर हेर्ने क्षमता हामीले गुमाइसकेका छौँ । एउटा कविलाई प्रहरीेले कविता वाचन गर्दागर्दै अपहरण गर्छ । यो सानो प्रताडना हैन ।

अंशु प्रहरीको धम्कीले डराएनन् । उनले आफूले पहिले गरेको कार्यलाई निरन्तरता दिए र फेरि कुम्भ मेलाका कर्मचारीको आन्दोलनमा सामेल भए । सत्ताको धम्कीले पनि एक कवि नडराउनु राम्रो हो तर के यो कार्यले उनले थप सजाय भोग्नुपर्ने त हैन ? मिडियामा समेत चर्चामा आउन नसकेको कुम्भ मेलाको सानो आन्दोलनबाट युपी प्रशासन यति धेरै किन डरायो ? एक कविलाई त्राश देखाउन अग्रसर गराउने कारण के थियो ? यसको उत्तर यश मालवीयसँगको कुराकानीपछि थाहा पाएँ ।

यश मालवीयका अनुसार कुम्भ मेला पहिला भक्तहरुको मेला थियो अहिले भव्यताको मेला भएको छ । कुनै समय गरिबको आश्रयको रुपमा रहेको कुम्भ मेलालाई अहिले भिआइपी पर्यटनमा रुपान्तरण गरिएको छ । मेला बजार प्रदर्शन बनेको छ । लेखकले यो कुरालाई व्यक्तिगत रुपमा प्रमाणित गर्न नसके पनि सरकारको कार्य हेर्दा मेलालाई पूँजिपतिको पेवा बनाएको प्रस्ट हुन्छ । बजार पनि मौलाओस् र तमासा पनि हेर्न सकियोस् भन्नेतिर सरकार लागेको पाइन्छ ।
यो प्रसंग अंशु मालवीयकै एक कविता पढ्दा ऐना जस्तो छर्लङ्ग हुन्छ ।
गहुँ सेयर बजारमा उम्रिँदै छ
खेतमा केवल भोकहरु
मूल्य सूचकांकको पंछी
तीर्खाएर डुल्दै छन् गाउँ सहर
कारखानामा हात काटिँदै छन्
मजदुरका
मनाइँदै छ झेलको महोत्सव ।

अब मुख्य घटनालाई हेरौँ । यो घटनामा सरकार र प्रहरी प्रशासन दादागिरी प्रस्टै देखिन्छ । सत्ता प्रतिरोधको आवाज मन पराउँदैन । लेखक र कलाकारलाई त सत्ता घृणा नै गर्छ । अदालतले रोक लगाउँदा पनि विभिन्न आरोपमा गिरफतार गरिन्छ । धम्क्याउने, डर देखाउने र हैरानी दिने गरिन्छ । जहाँसम्म देशको कुरा आउँछ प्रम मोदीले भाषणमा थप अरु कविता भन्नु पर्छ । सर्वेश्वर दयाल सक्सेना जसको कविता नाम नै नलिइ मोदी भन्दै छन् उनकै अर्को कविताको पंक्ति मोदीले भन्लान् त ?
तिम्रो घरको एउटा कोठामा
डढेलोको लप्का निस्किँदै छ भने
अर्को कोठामा तिमी चैनको निद्रा
निदाउन सक्छौ ?
यदि तिम्रो घरको एउटा कोठामा
लाश सड्दै छन् भने
अर्को कोठामा बसेर
प्रार्थनामा लीन हुन सक्छौ ?…

दुर्भाग्यले हामी यस्तो समयमा छौँ जहाँ एउटा कोठाबाट लाशको कुहिएको गन्ध आइरहेको छ र अर्को कोठाबाट उत्सव मनाइएको आवाज । यो देख्ने कविको लागि सरकार सजाय दिन तम्तयार भएर बसेको छ । उसलाई जहाँसुकैबाट जुनसुकै बेलामा पनि समातेर लैजान सक्छ ।

(एनडीटीभीमा प्रकाशित पत्रकार प्रियदर्शनकाे लेख अनुवाद गरिएकाे हाे ।)