स्वर्ण पदक विजेता महेश्वर महर्जनले पाए यति ठुलो सम्मान

काठमाडौं । नेपाल स्क्वास -याकेट्स संघले १० औँ विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण पदक विजेता महेश्वर महर्जन नगदसहित सम्मानित भएका छन् । थाइल्यान्डको चाइमाइमा गत डिसेम्बरमा भएको उक्त प्रतियोगिताअन्तर्गत शारी रिक सुगठनको पुरुष ७५ केजीमा महेश्वरले स्वर्ण पदक जित्दै इतिहास रचेका थिए । विश्व शारीरिक सुगठनमा स्वर्ण पदक जित्ने महेश्वर एक्लो नेपाली खेलाडी हुन् ।महेश्वर एशियाली शारीरिक सुगठनका पनि एक्लो स्वर्णधारी नेपाली खेलाडी हुन् ।महेश्वरलाई स्क्वास संघका अध्यक्ष किशोर महर्जनले एक कार्यक्रमबीच नगद १ लाख १ हजार र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

उता त्रिभुवन आर्मी क्लबका सुशील थापा र नेपाल पुलिस क्लबकी दिवाना शेर्मा वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।सर्वोत्कृष्ट घोषित भएसँगै बक्सिङको इतिहासमै पहिलोपटक सुशीलले टिभीएस मोटरसाइकल र दिवानाले टिभिएस स्कुटर प्राप्त गरेका छन् । दुवै विजेतालाई वीर गणेशमान फाउन्डेसनका कार्यकरी अध्यक्ष प्रकाशमान सिंह र प्रतियोगिता संयोजक राजीव श्रेष्ठ लगायतले पुरस्कृत गरे ।वीर गणेशमान फाउन्डेसनको आयोजनामा वसन्तपुर डबलीमा आयोजित प्रतियोगिताको अन्तिम दिन त्रिभुवन आर्मी पुरुषतर्फ पनि टिम च्याम्पियन बन्यो ।

शनिबार भएका ८ फाइनलमध्ये आर्मीले ५ स्वर्ण जित्दै दुवै महिला र पुरुषको टिम च्याम्पियन उपाधि हासिल गरेको हो ।पुरुष ४९ केजी तौल समूहमा आर्मीका सुशील थापाले एपीएफका प्रदीप महर्जनलाई पराजित गर्दै स्वर्ण पदक जिते । सेमिफाइनलमा पराजित भएका प्रदेश ६ का मोहन गुरुङ र प्रदेश ७ का भनु विष्टले कास्य पदक हात पारे ।५२ केजीमा आर्मीका प्रेम चौधरीले एपीएफका विक्रम परियारलाई पराजित गर्दै उपाधि जिते । सोहि समूहमा पुलिसका चन्द्रबहादुर थापा र प्रदेश १ का सुलभ राज तुलाधर तेस्रो भए ।आर्मीकै विमल रोकाले ५६ केजीको उपाधि भिडन्तमा एपीएफका पुरन राईलाई पराजित गरे ।

प्रदेश २ का गणेश थापा र प्रदेश ७ का महेन्द्र चन्दले कास्य पाए ।पुलिसका दिनेश श्रेष्ठले ६० केजी तौल समूहमा आर्मीका एकबहादुर घलेलाई पराजित गर्दै स्वर्ण हात पारे । त्यसै समूहमा प्रदेश ५ का गणेश थापामगर र एपीएफका प्रकाश लिम्बूले तेस्रो भए।पु लिसका भुपेन्द्र थापाले एपीएफका सोनाम सार्कीलाई पराजित गर्दै ६४ केजी तौल समूहको उपाधि जिते ।आर्मीका सुरेश नेपाली र प्रदेश ६ का इन्द्र सुनारले कास्य पदकमा चित्त बुझाए ।६९ केजीमा एपीएफका विकास लामाले आर्मीका विष्णुप्रसाद घलेलाई हराउँदै प्रथम स्थान हासिल गरे ।

सेमिफाइनलमा पराजित प्रदेश १ का राजेश गुरुङ र प्रदेश ३ का मनिष डंगोल कांस्यमा सिमित भए ।७५ केजी तौल समूहमा एपीएफका सुमन कार्कीले आर्मीका दिपक श्रेष्ठलाई वाकओभर दिए । प्रदेश २ का दिवस गुरुङ र प्रदेश ३ का दिवेश भूमिलाल तेस्रो भए ।आर्मीका रवी सुनारले ८१ केजीको फाइनलमा प्रदेश ५ का केशर खत्रीलाई पहिलो राउण्डमा नै नकआउट गरे ।प्रदेश ७ का हिक्मत बहादुर शाही र प्रदेश ४ का सुसन पुनले कास्य पदक प्राप्त गरे ।वीर गणेशमान फाउन्डेसनको आयोजना तथा माइसको व्यवस्थापनमा माघ २२ देखि २६ गतेसम्म वसन्तपुर डबलीमा चलेको प्रतियोगितामा प्रत्यक तौल समूहको विजेताले २५ हजार प्राप्त गरे ।