मोदीको भ्रमण पछि दुई देशको संबन्धलाई ख्याल गर्न चीनको चेतावनी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार अरूणाचलमा नयाँ विमानस्थलको शिलान्यास गरेपछि चीन र भारतबीच विवाद बढेको छ।

आगामी लोकसभा चुनावका लागि मोदी अहिले देश दौडाहामा छन्। २ दिने भ्रमणका लागि अरूणाचल पुगेका मोदीले शनिबार होलोंगी विमानस्थलको शिलान्यास गरेका थिए।

मोदीको शिलान्यासलगत्तै चिनियाँ विदेश मन्त्रालयले उनको अरूणाचल भ्रमणबारे आपत्ति जनाएको छ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनइङले शनिबार नै विज्ञप्ति जारी गर्दै अरूणाचलबारे चीनको धारणामा उहिलेदेखि प्रष्टता र एकरूपता भएको बताएकी छन्।

‘चीनले कहिल्यै पनि अरूणाचल प्रदेशलाई मान्यता दिएको छैन। र, चीन-भारतको सीमामा पर्ने यहाँ कुनै पनि भारतीय नेताले गर्ने भ्रमणको औपचारिक रूपमा विरोध गरेको छ,’ प्रवक्ता चुनइङको विज्ञप्तिमा भनिएको छ।

भारतले दुई देशको सम्बन्धको ख्याल गर्दै चिनियाँ चासो र स्वार्थको सम्मान गर्न र दुई देशको सम्बन्ध सुधारको गतिलाई बल दिन सीमा विवादलाई बल्झाउने कुनै पनि क्रियाकलाप गर्न नहुने विज्ञप्तिमा उल्लेख छ।

जवाफमा भारतले अरूणाचल आफ्नो अभिन्न अंग भएकाले देशभित्रका अरू ठाउँमा जस्तै अरूणाचलमा पनि नेताहरूले बेलाबेलामा भ्रमण गर्दै आएको बताएको छ।

‘अरूणाचलको जारी यो अवस्थाबारे चिनियाँ पक्षलाई बेलाबेलामा जानकारी गराइएकै छ,’ भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।

अरूणाचललाई नयाँदिल्ली भारतीय राज्य मान्छ तर बेइजिङले यहाँको ठूलो क्षेत्र दक्षिण तिब्बत भएको दाबी गर्दै आएको छ। चीन-भारतबीच सन् १९६२ मा भएको युद्धको केन्द्रमा यो विवादित क्षेत्र थियो।

‘अरूणाचल  प्रदेश भारतको गर्व हो। यो भारतको गेटवे हो,’ शिलान्यास कार्यक्रममा मोदीले भनेका थिए, ‘म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु। हामी यसको सुरक्षामात्र ध्यान दिने छैनौं बरू यसलाई विकासको फास्टट्रयाकमा पनि राख्नेछौं।’

गत डिसेम्बरमा चिनियाँ कामदार अरूणाचलको उपर सियाङ जिल्लामा सडक बनाउन आएपछि बेइजिङ र नयाँदिल्लीबीच नयाँ विवाद सुरू भएको थियो।  चिनियाँ कामदारले सडक बनाउन थालेको ठाउँमा भारतीय सेना गएपछि उनीहरू पछि हटेका थिए।

दुबै तर्फका सैनिक अधिकारीले गत बुधवार विवादबारे छलफल गरेको  इन्डिया टुडे समाचारपत्रले जनाएको छ।

सन् २०१७ मा दोक्लम विवादलाई लिएर चीन र भारतका सेना ७३ दिनसम्म आमनेसामने भएका थिए। गत वर्ष अप्रिलमा चिनियाँ शहर वुहानमा राष्ट्रपति सी चिनफिङसँग प्रधानमन्त्री मोदीको अनौपचारिक भेटवार्तापछि  सुधार भएको भनिएको चीन-भारत सम्बन्धमा अरूणाचल विवादले फेरि जटिलता आउन सक्ने विश्लेषकहरूले बताएका छन्।