राष्ट्रिय पशु मारेवापत १ करोड २६ लाख रुपैयाँ तिरे

काठमाडौं। अमेरिकाका एक व्यक्तिले पाकिस्तानको राष्ट्रिय पशु, विलुप्त हुने संघारमा रहेको जनावर मरखोर मारेवापत पाकिस्तान सरकारलाई १ लाख १० हजार डलर (१ करोड २६ लाख नेपाली रुपैयाँ) तिरेका छन् । उनले यो पशुलाई एक प्रतियोगिताको क्रममा मारेका थिए । यो प्रतियोगिता पाकिस्तानको गिलगित–बाल्लिस्तानमा हुन्छ । मरखोर जंगली भेडाजस्तै देखिने जनावर हो । यो लोप हुने संघारमा छ । यसलाई लामो रौं र छल्लेदार सिङबाट चिनिन्छ । पाकिस्तानमा यसलाई मार्नु गैरकानुनी हो तर सरकारले ट्रफी हन्टिङ नामको एक प्रतियोगितामा यसलाई मार्न अनुमति दिन्छ ।

अमेरिकी नागरिक ब्रायन किंसेल हरलानले गिलगितको सासी हारमोश संरक्षित क्षेत्रमा मरखोर मार्नको लागि लिलामीमा सबैभन्दा धेरै बोली लगाएका हुन् । गिलगित बाल्लिस्तान वन्यजन्तु विभागका अनुसार हरलाले संरक्षण कार्यक्रम अन्तर्गत मरखोर मार्नको लागि १ लाख १० हजार डलर तिरे । हरलानले भने ‘यो धेरै सजिलो थियो । मैले निकै नजिकबाट निशाना लगाएँ । ट्रफी पाएर म धेरै खुसी छु ।’ २१ जनवरीमा एक अन्य अमेरिकी नागरिक डायंडा क्रिस्टोफर एन्टोनीले मरखोर मार्नका लागि १ लाख ५ हजार डलर तिरेका थिए ।